रक्की माउन्टेन गरिमा बढाउन नयाँ नेतृत्व–शैलेस पोखरेल

sailesh pokhrel
सिद्धान्त छ, विधान छ, नियम छ
तर, व्यवहार छैन
व्यवहार नगर्नेलाई सजांय छैन
काम छ, टाप टिपे
प्रतिफल छ शून्य
यी लाइन प्रध्यापक डा. विजयराज शर्माले गत साता बोल्डरमा आयोजित नेपाली साहित्य सम्बन्धी कार्यक्रममा वाचन गर्नु भएको कठै समाज शीर्षक कविताका सुरुका अंश हुन् । शर्माले अधिकांश नेपाली समुदायको चरित्र देखाउने गरी रचना गर्नु भएको उक्त कविता रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपालसँग पनि ठ्याक्कै मिल्न जान्छ । रक्की माउन्टेन कोलोराडोको पुराना संस्था हो । नेपाल र अमेरिकी समाजलाई जोड्ने यो संस्थाको इतिहास झण्डै ४० वर्ष अघिवाट सुरु हुन्छ । यो संस्थाको इतिहास जति गरिमामय छ तर, यसका कामहरू भने खुम्चिदैं गएका छन् । नेपाली समाजको बढ्दो उपस्थिति सँगै अझ सक्रिय हुनु पर्ने रक्की माउन्टेन शर्माको कविता जस्तै काम छ, टाप टिपे प्रतिफल छ शून्य जस्तै गरी अघि वढीरहेको छ । यसै महिना अन्तिममा हुने निर्वाचनले संस्थालाई सक्रिय रूपमा अगाडी बढाउन सक्ने नेतृत्व चयन गर्न चुक्यो भने रक्की माउन्टेनको गरिमा अझ खस्किने छ ।
कोलाराडोमा नेपाली समुदायको बढ्दो उपस्थितिसंगै आवश्यकता र चुनौतीहरू पनि वढीरहेका छन् । यहाँ आउनेलाई सुरुमा अमेरिकी समाजमा स्थापित हुने चुनौती पहिलो हो । तर, यसपछि पनि अप्ठ्यारा सकिदैंनन् । सङ्ख्या बृद्धिसंगै नयाँ नयाँ समस्या पनि थपिरहेका छन् । यही जन्मेको नयाँ पुस्ता ठुलो हुदैं छ, यसलाई पनि नेपाली समाज र संस्कार चिनाउनु पर्ने नयाँ चुनौती छ । यो कसैको व्यक्तिगत प्रयासबाट मात्र सम्भव हुदैंन । सामूहिक रूपमा यस्ता समस्या र चुनौती समाना गर्ने संस्था नेपाली समुदायले खोजिरहेको छ । दुर्भाग्यवश यसको आवश्यकता रक्की माउन्टेनले पुरा गर्न सकेको छैन । कोलोराडोमा बस्ने नेपाली समुदायले रक्की माउन्टेनका कामहरू विगतमा भन्दा पनि खुम्चिंदै गएको गुनासो गर्दै आएका छन् । नेपाल चिनाउने, नेपालीलाई पहिचान दिलाउने कयौँ वर्ष देखि हुदैं आएको नेपाल डे परेड गत वर्ष भएन । यस बाहेक रक्की माउन्टेनले पराम्परागत रूपमा गर्दै आएका अरू थुप्रै कार्यक्रमहरू भएनन् । कार्यक्रम हुदां नेपालीहरू भेला भई अनुभव र सूचना आदान प्रदान गर्ने अवसर मिल्छ । संस्था प्रति समुदायको चासो वढ्छ, मिलेर नयाँ काममा अघि बढ्न उत्साह थप्छ । अध्यक्ष वा पदाधिकारीलाई मञ्चमा जान अतिथि बन्न मात्र संस्था रहेको भान भइरहेको नेपाली समुदायको अनुभव छ ।
रक्की माउन्टेन प्रति नेपाली समुदायको वितृष्णा बढ्दै छ भन्ने जलन्त उदाहरण सदस्य सङ्ख्या पनि हो । डेनवर वरपरका सहरका १० हजार भन्दा बढी नेपाली बसोबास गर्ने भएपनि रक्की माउन्टेनमा करिब ५ सय जना मात्र सदस्य छन् । संस्थामा आवद्ध भएर केही लाभ नदेखेकाले नै सदस्य कम भएका हुन् । यसको महसुस समेत अहिलेको नेतृत्वलाई भएको छैन ।
समुदायका लागि गर्नु पर्ने कामहरू थुप्रै छन् । वहुउद्देशिय नेपाली समुदायिक घरको आवश्यकता टड्करो रूपमा देखिएको छ । यस्तो समुदायिक घरले नेपालीलाई आवश्यकता पर्ने सूचनाहरू दिन सकोस भन्ने हाम्रो चाहना हो । स्वास्थ्य बिमा कसरी गर्ने कयौँ नेपालीलाई राम्रो जानकारी छैन । आफू वा बाल बच्चालाई कहाँ कस्तो स्कुल वा कलेज पठाउने यसबारेमा पनि जानकारी दिने अनुभव लिने ठाउँ अभाव छ । यसबाहेक आवास, देखि दैनिक जीवन यापनका लागि थुप्रै सूचना आदान प्रदान गर्नका लागि बहुउद्देशिय थलोको आवश्यकता परेको छ । आफ्ना सन्तानसंग समय बिताउन आउन बा आमाहरुलाई सजिलोसँग अनुभव साट्दै दिन कटाउने ठाउँ चाहिएको छ । रक्की माउन्टेन यस्ता सवालमा निष्कृय छ । अर्को संस्था नेपाली घरसँग सम्बन्ध रक्की माउन्टेनको वर्तमान नेतृत्वले निकै प्रथामिकतामा राखेको छ । संस्थाहरू मिलेर अघि बढ्नु नराम्रो होइन । तर, रक्की माउन्टेन र नेपाली घर प्रतिस्पर्धी संस्था पनि हुन् । प्रतिस्पर्धा हुनु समुदायको हितमा हुन्छ । जसले समुदायको हितमा काम गर्छ त्यही संस्था अघि बढ्छ आम नेपालीको विश्वास जित्छ । तर, यहाँ संस्था बिच राम्रो काम गर्नेमा प्रतिस्पर्धा होइन काम नगर्नेमा होड छ । यो अवस्थालाई परिवर्तनका लागि पनि नयाँ नेतृत्व चाहिएको हो ।
रक्की माउन्टेन विधान नियम अनुसार चलेको छ, छैन भन्ने अर्को सवाल पनि उठिरहेको छ । लहडको भरमा निर्णय हुने संस्थाकै पदाधिकारी र पूर्व अध्यक्षहरुको गुनासो छ । बैठकमा आएका कतिपय समुदायको हितका लागि गर्न लागिएका कार्यक्रम पनि हुन नसकेकोमा संस्था भित्रैकै पदाधिकारी वताउंछन् । नेतृत्वमा यही मैले चाहेको व्यक्ति नै जानु पर्छ भन्ने होइन । संस्था समुदायका लागि सहयोगी बन्नु पर्छ । र कुनै पनि संस्थाको नेतृत्वले समुदायको हितमा काम गर्नु पर्छ । समग्र समुदायलाई साथमा लिएर अघि बढ्न सक्ने सबल र सक्षम व्यक्ति नेतृत्वमा पुग्नु पर्छ । यस्तो नेतृत्वलाई हामी सबैले संस्था बाहिर भएपनि आफ्नो स्थानबाट सक्रिय सहयोग पनि पुर्‍याउनु पर्छ । यसले मात्र नेपाली समुदाय सबल भई अघि बढ्न सक्छ । अहिले नै रक्की माउन्टेनको गरिमामय इतिहासलाई अझ माथि लैजान सोच्नु पर्ने वेला आएको छ ।
Spread the love