२१ औं विश्वकपको ट्रफी कस्को हातमा ?

मस्को : विश्वकप फुटबलमा नयाँ इतिहास बन्ने वा पुरानै इतिहास दोहोरिने टुंगो पनि आइतबार लाग्नेछ । २१ औं विश्वकपको उपाधिको मुखमा रहेका फ्रान्स र क्रोएसिया दुवैको लक्ष्य अहिले उपाधि छ । विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच को अब्बल भन्ने होड आइतबार अन्त्य हुनेछ । फ्रान्सले सन् १९९८ मा पहिलोपटक उपाधि जितेको थियो । त्यही इतिहास दोहोर्‍याउन फ्रान्सले अहिले निकै मेहनत गरिरहेको छ । २० वर्षअघि फ्रान्सले सेमिफाइनलमा क्रोएसियालाई हराएको थियो । फ्रान्सले अहिले त्यही क्रोएसियालाई फाइनलमा हराउनु पर्नेछ । संयोगवश २० वर्षअघि फ्रान्सले डिडियर डेसच्याम्पसको कप्तानीमा विश्वकप उचालेको थियो । यही होडमा खेलाडीले समेत आफूलाई विश्वकप विजेता टोलीको सदस्यका रूपमा उभ्याउने मौका पाउनेछन् ।  फ्रान्स आफूलाई क्रोएसियाभन्दा बलियो रहेको दाबी गरिरहेको छ । यस्तै बलिया टोलीलाई धुलो चटाउँदै फाइनलमा स्थान बनाएको क्रोएसियाले पनि आफू उपाधिको वास्तविक हकदार ठानिरहेको छ । पाँचपटक विश्वकपमा सहभागिता जनाएको क्रोएसिया रुस विश्वकपबाट आफूलाई नयाँ विजेता बनाउन चाहन्छ । सन् १९९१ मा युगोस्लाभियासँग छुट्टिएपछि क्रोएसियाले सन् १९९८ मा स्वतन्त्र राष्ट्रका रूपमा पहिलोपटक विश्वकप खेलेको थियो । तिनमा फ्रान्सले तीन खेलमा जित हात पारेको छ भने बाँकी दुई खेल बराबरीमा टुंगिएका छन् ।  फ्रान्सले उपाधि जिते इतिहास दोहोर्‍याउनेछ भने क्रोएसिया विजयी बने नयाँ विजेता टोली जन्मिनेछ । त्यससँगै विश्वकप जित्ने टोलीको संख्या पनि नौ पुग्नेछ ।

Spread the love