रातो मत्स्येन्द्रनाथको रथयात्रा

मुलुकमा सबैभन्दा लामो समय मनाइने जात्रा रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरु भएको छ । पाटन टंगल टोलमा बनाइएको जट्टाधारी लोकेश्वर नामबाट प्रसिद्ध मीननाथको रथ पनि तानेर गाःबहाल पुर्‍याइएको छ । रथलाई सोमबार पुल्चोकबाट सांस्कृतिक बाजागाजाका साथ तानेर पाटन गाःबहाल पुर्‍याइएको छ ।     शार्दूलजंगको पल्टन, धिमे, नायखीलगायत सांस्कृतिक बाजागाजामा रथजात्रा हेर्नको भीड लागेको थियो । रथ तान्न सुरु गर्ने दिन गुरुज्यूको पल्टनले विगुल बजाएर हर्षबढाई गर्ने चलन छ।  रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथयात्रा वैशाख महिनाको शुक्लपक्ष प्रतिपदादेखि सुरु हुन्छ र जाउलाखेलमा पुर्‍याएर भोटो देखाएपछि समापन हुन्छ । साइत हेरेर भोटो देखाउने गरेकाले यो जात्रा सकिने दिनको टुंगो अहिले नै लाग्दैन ।  यो जात्रा काठमाडौं उपत्यकामा नै  सबैभन्दा लामो समयसम्म चल्ने जात्राका रुपमा परिचित छ ।

Spread the love