नवौं राष्ट्रिय खेलकुद : यस्तो हुनेछ उद्घाटन

पोखरा :  नवौं राष्ट्रिय खेलकुदको पोखरा रंगशालामा शुक्रबार हुने औपचारिक उद्घाटन सत्र राष्ट्रिय खेलकुद परिषद्ले भव्य बनाउने तयारी गरेको छ । राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले दिउँसो ४ः३० बजे गर्दै छन् । रंगशालाको फुटबल स्टेडियममा उपराष्ट्रपतिको आगमनसँगै नेपाली सेनाले राष्ट्रिय गानमा ब्यान्ड सलामी प्रस्ततु गर्नेछ । त्यसपछि सुरु हुनेछ मार्चपास । मार्चपासको अगाडि समुद्घाटन ब्यानर हुनेछ ।   विभिन्न विद्यालयका विद्यार्थी, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी र खेल पदाधिकारीको सहभागिताले उद्घाटनलाई स्मरणीय बनाउने राखेपको प्रयत्न छ ।

सद्भावनादूत ओलम्पियन दीपक विष्ट, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता करातेका दीपक श्रेष्ठ, राष्ट्रिय खेल भलिबलको महिला टोलीकी कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई मार्चपासमा सहभागी हुनेछन् । नेपाली सेनाको झन्डा मार्चपास हुनेछ । सहभागी ११ टिमका खेलाडी, जज रेफ्री, १६ विद्यालयका एक हजार दुई सय विद्यार्थीको मार्चपासमा सहभागिता रहनेछ ।  पोखराका चर्चित पप ब्यान्डका गीतलाई पनि सेनाको ब्यान्डले धुनमा प्रस्तुत गर्नेछ । सेवा दलका ३ सय जनाले नै खुकुरी ड्रिल प्रदर्शनी गर्नेछ । सुदूरपश्चिमको प्रख्यान हुड्केली नाच रंगशालामा देखाइनेछ ।   उद्घाटन समारोहको अन्त्यमा आतिशबाजी हुनेछ । आतिशबाजीका लागि भारतबाट प्राविधिक पोखरा आएका छन् । रंगशालालाई सिँगारेर चिरिच्याट्ट बनाइएको छ । रातमा पनि रंगशालालाई आकर्षक बनाउन लेजर लाइटको प्रयोग गरिएको छ ।

Spread the love