ओलीलाई हटाइ नेकपा प्रचण्ड समूहले बनायो प्रचण्डलाई संसदीय दलको नेता

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड समूहको संसदीय दलको बैठकले पार्टी अध्यक्ष दाहाललाई संसदीय दलको नेतामा चयन गरेको छ। आज बानेश्वरमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरेको हो। प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २૪ जनाले प्रचण्डलाई नेता चयन गरेको हो।

प्रधानमन्त्री केपी ओलीले संघीय संसद्को विघटनको प्रस्ताव पुस ५ मा राष्ट्रपतिसमक्ष पेस गरेका थिए। प्रस्ताव पेस भएको चार घन्टाभित्रमै राष्ट्रपति विद्यादेवी भण्डारीले यसलाई अनुमोदन गरिन्। उनले संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ अनुसार संसद् विघटन भएको उल्लेख गरेकी छन्। यससितै वैशाख १७ तथा २७ गते गरी दुई चरणमा निर्वाचन हुने सूचना सार्वजनिक भएको छ। संसद् विघटनलाई असंवैधानिक कदम भन्दै सबैतिरबाट विरोध भएको छ। यसमा स्वयं नेकपाका राजनीतिज्ञ, विद्यार्थीदेखि विरोधी दल नेपाली कांग्रेस पनि समावेश भएको छ। ओलीका निकटका राजनीतिज्ञले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व गरेको विरोधी खेमाले प्रधानमन्त्रीलाई घेराबन्दी गरेकाले प्रधानमन्त्री बाध्य भएर यस्तो कदमा लिनुपरेको बताएका छन्। उनीहरूले अब निर्वाचनतर्फ उन्मुख हुनुपर्ने सुझाव दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजनको संघारमा पुगेको छ। ओली र प्रचण्ड समूह अहिले आफूलाई वैधानिक कायम गराउन लागिपरेका छन्।

Spread the love