प्रदेश २ मा पीसीआर खरिदमा भ्रष्टाचार

जनकपुरधाम : कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका निमित्त महँगोमा स्वास्थ्य सामग्री खरिद गरी अनियमितता गरेको पाइएको छ। प्रदेश २ सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत आरडीटी–पीसीआरसँग सम्बन्धित उपकरण खरिदमा बजार मूल्यभन्दा धेरै २ करोड ८२ लाख १६ हजार १ सय रुपैयाँमा खरिद गरेको छ। आपूर्ति व्यवस्थापन केन्द्रले साउन २९ मा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ र सार्वजनिक खरिद नियन्त्रण २०६४ को नियम १४५ बमोजिम विशेष परिस्थितिमा खरिद हुनेसम्बन्धी व्यवस्थाअनुरूप औजार उपकरण खरिदका लागि सातदिने सूचना प्रकाशन गरेको थियो। उक्त सूचनाबमोजिम पीसीआर (रियल टाइम मेसिन) र एक्स्ट्र्याक्सन प्याकेज–१ मा तीन वटा फर्मको बोलपत्रमध्ये सबैभन्दा बढी रकम प्रस्ताव गरेको कम्पनीसँग खरिद गरी सबैभन्दा न्यूनतम रकम प्रस्ताव गरेका कम्पनीको बोलपत्र रद्द गरिएको छ।

सप्तरीको राजविराज, धनुषाको जनकपुर र रौतहटको गौरमा कोरोना परीक्षणका लागि ‘रियल टाइम’ पीसीआर मेसिनसहित विभिन्न १४ थान उपकरण खरिदमा करोडौं भ्रष्टाचार भएको पाइएको हो।  सोही मेसिन र उपकरण २ करोड ६९ लाख ९५ हजार ७ सय रुपैयाँमा उपलब्ध गराउन तयार फर्मको बोलपत्र रद्द गरिएको छ। खरिद प्रतिस्पर्धामा सहभागी भएका फर्ममध्ये सस्तोमा दिनेबाट खरिद नगरी महँगो दर रेटमा खरिद गरेर करोडौं भ्रष्टाचार गरेको पाइएको छ।

पीसीआर परीक्षणमा प्रयोग हुने १४ सामग्रीसहितका उपकरण सरकारले २ करोड ४९ लाख ७० हजार रुपैयाँमा किनेको छ। जसमा ३२ लाख ४६ हजार १ सय रुपैयाँ भ्याटसमेत जोडेर पूरै लागत २ करोड ८२ लाख १६ हजार १ सय रुपैयाँ पर्न गएको छ। तर, उल्लेखित सबै सामग्री राइनले कुल २ करोड ६९ लाख ९५ हजार ७ सय रुपैयाँमा उपलब्ध गराउन प्रस्ताव गरेको भए पनि उनको बोलपत्र रद्द गरिएको छ। आपूर्ति व्यवस्थापन केन्द्र निर्देशक डा. प्रमोदकुमार यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडीका छोरा सुमित साहसहितको मिलेमतोमा नै सरकारले जानीजानी बजारको चलनचल्ती मूल्यभन्दा धेरै महंगो दरमा सामान किनेको स्रोतको दाबी छ।

Spread the love