पत्रकार ओमप्रसाद घायललाई आक्रमण गर्ने धम्की

om

पर्वतः कालीगण्डकी नदी, पोखरा बागलुङ राजमार्ग र प्रसिद्ध दिव्यधान सहश्राधारालाई समेत अतिक्रमण गरेर पर्वतको सहश्रधारामा संचालन गरिएको कालीगण्डकी क्रसर उद्योगका संचालक रामकृष्ण मल्लले आफ्नो अवैध कारोवारको विषयमा समाचार लेखेको भन्दै रेडियो शालिग्राम पर्वतका स्टेशन म्यानेजर तथा नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष ओमप्रसाद घायललाई आक्रमण गर्ने धम्की दिएका छन् ।
नेपाल सरकारका मूख्य सचिव लीलामणि पौडेलको रोहवरमै क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले उक्त कालीगण्डकी क्रसर उद्योगको वैधताप्रति असहमती जनाउँदै स्थानीय प्रशासनको ध्यानाकषर्ण गराएको खबर रेडियोमा प्रसारण भएपछि मल्लले घायललाई फोनमार्फत आक्रमणको धम्की दिएका हुन् । यसैवीच महासंघका पूर्व अध्यक्ष घायलमाथि आक्रमणको धम्की र सामाजिक संजालमार्फत लगाइएको लाञ्छनाको विषयलाई लिएर नेपाल पत्रकार महासंघ पर्वतले प्रेस विज्ञप्ती प्रकाशन गरि क्रसर उद्योग संचालक मल्लको हर्कतको भत्र्सना गरेको छ ।

मल्लले फोनमा ‘मेरो क्रसरको विरुद्धमा समाचार प्रसारण गर्ने तेरो रेडियोमा विज्ञापनको रकम पनि तिर्दिन र तँलाई पनि ठेगान लगाउँछु ।’ भनेको घायलले बताए । विज्ञप्तीमा ‘संचारमाध्यममा प्रसारण गरिएको विज्ञापनको रकम भुक्तानी माग्दा धम्की दिने र सामाजिक संजालहरुमा अनर्गल लाञ्छनाहरु लगाएर व्यक्तिगत चरित्र हत्या गर्न खोज्नु निन्दनीय कार्य हो भनिएको छ । पत्रकार घायल नेपाल प्रेस युनियन पर्वतका संस्थापक, नेपाल पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका केन्द्रीय उपाध्यक्ष, रेडियो शालिग्राम पर्वतका स्टेशन म्यानेजर र मोदीकाली साप्ताहिकका सम्पादक हुन् । उनी विगत १७ बर्षदेखि पत्रकारितामा सक्रिय छन् ।

Spread the love