देशैभर कांग्रेसको शक्ति प्रदर्शन

१५ साउन, काठमाडौं : विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध कडा नाराबाजी गर्दै मंगलबार देशव्यापी विरोध प्रदर्शन गरेको छ । विरोधसभामा कांग्रेस नेताहरुले सरकारले कर वृद्धि गरेको, जनभावना अनुसार काम नगरेको, सिण्डिकेट अन्त्य गर्न नसकेको, सभामुख र उपसभामुख एकै पार्टीबाट चयन गरेर संविधान उलंघन गरेको जस्ता विषय उठाएका छन् ।

राजधानीसहित देशका सबै जिल्ला सदरमुकाममा कांग्रेसका नेता कार्यकर्ताले जुलुस र सभाहरु गरेका छन् । पार्टीका वरिष्ठ नेताहरु विभिन्न जिल्लाका विरोध कार्यक्रममा सहभागी भए । उनीहरुले सरकारविरुद्ध निकै आक्रामकरुपमा आफूलाई प्रस्तुत गरे । राजधानीलगायतका ठूला शहरमा कार्यकर्ताहरुको उल्लेख्य सहभागितासहित कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । डा. गोविन्द केसीको अनसनलाई समर्थन गर्न पूर्वनिर्धारित कार्यक्रम भएता पनि कांग्रेसले अनसन स्थगित भइसकेको अवस्थामा पनि विरोध कार्यक्रमलाई निरन्तरता दिएको छ ।

Spread the love