महेन्द्र माबिको नाम फेरियो

भरतसन्तोषी ,नुवाकोट:  नुवाकोटको लिखु गाउँ पालिका वडा नम्बर-६ मा अवस्थित महेन्द्र माध्यमिक विद्यालयको नाम अब महेन्द्र महेशदेव माध्यमिक विद्यालयमा परिवर्तन भएको छ । आज विद्यालयमा सम्पन्न साइनबोर्ड अनावरण तथा चन्दादातालाई सम्मान कार्यक्रम सगै विद्यालयको नाम परिवर्तन तथा फेरबदल भएको घोषणा गरिएको हो ।  विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रामबहादुर ओझा तथा जिल्ला शिक्षा समिति सदस्य बिनोद पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा चन्दादाता स्वर्गीय महेशदेव पाठकलाई मरणोपरान्त सम्मान गरिएको थियो भने स्वर्गीय महेशदेव पाठकका धर्मपत्नी शुभद्रा पाठक र सुपुत्री शारदा पाठकलाई समेत खादा तथा प्रसम्सा पत्र सहित सम्मान गरिएको थियो ।  स्वर्गीय महेशदेव पाठकले विद्यालयको शैक्षिक तथा भौतिक पुर्णताको लागि भन्दै ३७ लाख ५० हजार रकम चन्दा प्रदान गर्नुभएको स्मरण गर्नुहुदै कार्यक्रमका विशिष्ट अतिथि लिखु गाउँ पालिकाका श्रोत ब्यक्ति महेश्वर पाण्डेले जो कोहिले यसरी उदार भावका साथ सहयोग गर्न नसक्ने बताउनुभयो । “विद्यालयले उहाँको सहयोगलाई सम्झेर अगाडि बढ्ने प्रेरणा पाएको छ”श्रोत ब्यक्ति पाण्डेले भन्नुभयो”विद्यालय महत्त्वपूर्ण कदमका साथ आगामी दिनमा अगाडी बढ्नेछ ।” शैक्षिक विकासमा महेशदेव पाठकको अतुलनीय योगदान रहेको विद्यालयका प्रधानाध्यापक मदन श्रेष्ठले बताउनुभयो ।

Spread the love