नेपाली कामदार नपठाउने निर्णय सच्याउन मलेसियाकोआग्रह

मलेसियाले नेपाली कामदार मलेसिया नपठाउने निर्णय पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरले निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको हो । नेपालले आफ्ना कामदार पठाउन रोक लगाएपछि मलेसियन सरकारले पहिलो पटक यस विषयमा औपचारिक रूपमा जानकारी दिएको हो।  मलेसिया जान भिसा प्रोसेसिङका लागि वन स्टप सेन्टर र भिएलएन नेपालसहित ५७ देशमा छ।
भिसा प्रोसेसिङका लागि मलेसियन सरकारले निजी कम्पनीहरूलाई एउटै प्रक्रियाबाट ल्याउन सहमति गरेका कारण नेपालको हकमा पनि त्यसलाई उल्टाउन नसकिने मन्त्रीले बताएका छन् ।  मलेसिया जाने कामदारसँग विभिन्न संस्थाले गैरकानूनी रूपमा रकम लिएर ठगी गरेको भन्दै सरकारले मलेसिया जान रोक लगाएको छ।
 मन्त्री एम कुलाशेगरले मलेसियाको विदेशी कामदार ल्याउने प्रक्रिया सबै देशहरूमा एउटै भएको र नेपालका विषयमा यसलाई हटाउन नसकिने बताए।  नेपाली कामदारसहित मलेसिया विदेशी कामदारमै निर्भर रहेको भन्दै उनले कामदार पठाउने देशको यस्तो निर्णयले मलेसियाको प्रगतिमै असर पर्ने बताएका छन् । तेस्रो पक्षीय कम्पनीले एकतर्फी रूपमा कामदारलाई अनावश्यक रूपमा रकम असुलेको बारेमा मलेसियाको सरकार जानकार छ ।  त्यसका लागि दुई हप्तादेखि नेपाली पक्षसँग कुराकानी भइरहेको मलेसियन सरकारले जनाएको छ।  जेठ २ गतेसम्म प्रक्रिया पूरा गरेका कामदार भने मलेसिया जान सक्ने छन्। मलेसियामा नेपाली कामदार प्राथमिकतामा छन्। इन्डोनेशियापछि मलेसियामा धेरै नेपाली कामदार छन्।
Spread the love