महामारीको समयमा आजको समुदाय – लक्ष्मण लुइँटेल

अहिलेको यो कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर अहोरात्र सेवा दिने स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु र संचारकर्मीहरुलाई आम जनताले सम्मान र सम्मानित व्यवहार त गर्न पर्यो, पर्यो यसका साथै उहाँहरूलाई प्रोत्साहित र उच्च मनोबलका साथ काम गर्न प्रेरणाका लागि विभिन्न अस्पताल संचालकहरु, मिडिया हाउसहरु, सुरक्षा निकायहरुका नेतृत्व तहबाट उचित ध्यान दिइएको र व्यवस्थापन गरेको पाइँदैन त्यसकारण पछिल्ला दिनहरूमा देशका विभिन्न स्थानहरूमा विभिन्न मागहरू राखी स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् भने कतिपय ठाउँमा उपचार गर्ने डाक्टरहरूले सामुहिक राजीनामा दिएका छन् । त्यसैगरी विभिन्न सुरक्षा निकायका राष्ट्रसेवक सुरक्षाकर्मीहरु पनि यस महामारीको कहरमा संतुष्ट छैनन्, उनीहरू सुविधाको विविध पक्षमा आफुहरुलाई राज्यले विभेद गरेको ठान्दछन् ।
फौजी अनुशासनले गर्दा स्वाभाविक असंतुष्टीहरु पनि प्रत्यक्षरूपमा प्रकट गर्न सक्दैनन् सुरक्षाकर्मीहरु, त्यसले गर्दा पीडको पोको लिई २४ सै घन्टा डिउटीमा तैनाथ रहनुपर्दा त्यसको नकारात्मक असर आमनागरिकमा, उनीहरुको परिवारमा, समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा परिरहेको सहजै महसुस गर्न सकिन्छ । हुन त विगतमा स्वास्थ्य, सुरक्षा र संचार क्षेत्रमा काम गर्ने केही व्यक्ति वा समुहबाट सानाठूला गल्तीहरु नभएका होइनन्, केही व्यक्तिहरुको बदमासीले सिङ्गो संस्थालाई वा सो संस्थामा कार्यरत सबैलाई दुर्ववहार र नकारात्मक दृष्टिले हेरिनु हुँदैन सभ्य व्यवहार गरिनुपर्छ । व्यक्तिगत रूपमा होओस् वा अफिसियल रूपमा होओस् गल्ती गर्नेहरू जो सुकै होउन् कानुनी कारवाहीको भागिदार हुनैपर्छ र कानुनी दायारामा आए/नआएको अनुगमन र खबरदारी गर्नु पनि आमनागरिकको कर्तव्य हो, कतिपय अवस्थामा गल्ती अनुसारको कानुनी कारवाही नहुँदा पनि असंतुष्टीहरु बढेको देखिन्छ जसले गर्दा स्वच्छ स्फुर्त रूपमा सेवा गर्ने भावनामा ठेस लाग्छ । त्यसकारण, महामारीको यस विषम परिस्थितिमा आफ्नो र घरपरिवारको समेत ज्यानको प्रवाह नगरी २४ सै घन्टा आमनागरिकको सेवामा खटिने स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, संचारकर्मीहरु लगाएत स्वास्थ्य, सुरक्षा र संचार क्षेत्र सँग सम्बन्धित निकायहरुमा कार्यरत कर्मचारीहरु र पेशागत व्यवसायीहरुलाई नेपालका तीनै तहका सरकारले र उल्लेखित निकायहरुका नेतृत्व तहले आवश्यक समन्वय गरी स्वाभाविक असंतुष्टीहरुको उचित व्यवस्थापन अविलम्ब गरिनुपर्छ र आमनागरिकले पनि स्वयम् सचेत रही नेपाल सरकार र सरकारका विभिन्न अङ्गले तोकेको स्वास्थ्य मापदण्ड लागु गर्न, सुरक्षा तथा संचार क्षेत्रलाई सहयोग गरी एकअर्का सँग सद्भाव बढाउन अती आवश्यक छ ।
उल्लेखित व्यवस्थापन र कार्यान्वयनमा ढिलाइ भएमा वा नगरिएमा आमनागरिकले शान्तिपुर्ण रूपमा सुरक्षित र स्वस्थ्य जीवनयापन गरि राष्ट्र/अन्तरराष्ट्रको खबरबाट सु-सूचित हुन पाउने अधिकारमा अवश्य बाधा अवरोध आउने छ वा वञ्चित समेत हुन सक्ने छन्, यसकारण आजको यो महामारीका बेला हामी सबै मिली आ-आफ्नो स्थानबाट आफुले सकेको सहयोग गरौं, महामारीलाई जितौं । धन्यवाद । लक्ष्मण लुइँटेल पूर्व प्रहरी नायब निरीक्षक
Spread the love