खिरखिरेमा खियाउँदै जिन्दगी

khirkhere ma jindagi

गोरखा – ‘म नौ वर्षको छँदा आमा पोइल गइन् । बा सधैं रक्सी खाएर हिँड्छन्’, सुनीलले आफ्नो कथा सुनाए, ‘अनि मैले पढ्न पाइनँ । काम खोज्दै चितवन गएँ । त्यहाँ पनि राम्रो भएन । अहिले ढुंगाखानीमा आएको हुँ ।’ यहाँ दुःख धेरै भए पनि कमाइ राम्रो भएको उनले बताए । घ्याल्चोक ६ छेर्दीखोलाका सुनील चेपाङ यो फागुनमा १८ वर्ष लागे । पारिवारिक समस्याले तीन कक्षाभन्दा पढ्न सकेनन् । स्थानीय प्रजाज्योति प्राविमा कक्षा तीनमा पढ्दापढ्दै छोडेर उनी चितवनतिर हिँडे, कामको खोजीमा ।
भुम्लिचोक ८ कौदीफाँटको ढुंगाखानीमा एक सयभन्दा धेरै चेपाङको जिन्दगी यसरी नै खिरखिरेमा झुन्डिएर बितिरहेको छ । खिरखिरेमा झुन्डिने काम पाउनु उनीहरूका लागि अवसर भएको छ ।
यहाँ ढुंगाखानी चलाउन थालेको २०४६ सालदेखि हो । खानी चलेपछि आसपासका चेपाङ समुदायले राम्रैसँग रोजीरोटी पाएका छन् । जोखिमको पर्वाह नगरी खिरखिरेमा झुन्डिएर काम गर्नुलाई उनीहरू अवसर ठान्छन् । कामले खिचेको उनीहरूको ध्यान दुईजनालाई त्रिशूलीले निलिसकेको घटनाले भड्काएको छैन ।
त्रिशूलीमा खिरखिरे खेल्ने, ढुंगामुढा उचाल्ने, पछार्ने अवसर उनीहरूलाई हेटौंडा सिमेन्ट उद्योगले दिएको हो । ढुंगा निकाल्न उद्योगले ‘ब्लास्ट’ गर्दा पहरोमाथि रहेको आफ्नो गाउँ नै थर्किएर पहिरो जाने खतरा रहे पनि काम गर्ने अवसर दिएकोमा यस भेगका चेपाङ समुदाय उद्योगसँग खुसी नै छन् ।
काँधकाँधमा खिरखिरे बोकेर साँझबिहान उकालोओरालो गर्ने, दिनभरि त्रिशूलीमाथि खिरखिरेमा ओहोरदोहोर गर्ने पुरानै परम्परा हो । यसरी नै यहाँका चेपाङ समुदायले बर्सौं बिताएका छन् ।

Spread the love