स्वामी कमलनयनाचार्यका उत्तराधिकारी पक्राउ

kamalanayan
नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जले स्वामी कमलनयनाचार्यका उत्तराधिकारी कृष्ण प्रपन्नाचार्यलाई नियन्त्रणमा लिएको छ । निकुञ्जभित्र मठमन्दिर, विद्यालय, बाटोलगायतका संरचना निर्माण गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । ‘बारम्बार त्रिवेणी क्षेत्रमा सरकारको अनुमति नलिई काम अगाडि नबढाउन अनुरोध गर्दा पनि भौतिक संरचना बनाएपछि नियन्त्रणमा लिइएको हो ।’ कमलनायचार्यले त्रिवेणीमा कर्मकाण्ड पढाइ हुने संस्कृत विद्यालय, वृद्धाश्रम, मठ मन्दिरहरु, त्रिवेणीदेखि दुम्किबास जोड्ने सडकलगायतका संरचना निर्माण गरेका छन् । त्यही संरचनालाई कृष्ण प्रपन्नाचार्यले हेरचाह गर्दै आएका थिए ।
निकुञ्जले नियन्त्रणमा लिएको स्वामी प्रपन्नाचार्यको रिहाइको माग गर्दै बुधबार ठाउँठाउँमा प्रदर्शन भएको छ । नवलपरासीको त्रिवेणीका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालय परासी र दुम्किबास बजारमा प्रदर्शन गरेका हुन् । त्यसैगरी त्रिवेणी सुस्ता नागरिक समाजको नाममा स्थानीयले बुधबार जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाल पत्रकार महासंघ नवलपरासी  र जिल्ला विकास समितिको कार्यालयमासमेत ज्ञापनपत्र बुझाएका छन् ।
यसैबीच, विरोधमा उत्रिएका त्रिवेणीका स्थानीय बासिन्दाले त्रिवेणी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको कार्यालय, त्रिवेणी उपभोक्ता समितिको कार्यालय र त्रिवेणीमा रहेको स्काउट कार्यलय गरी तीन वटा कार्यालयमा तालाबन्दी गरेका छन् ।
Spread the love