हामीलार्इ कसले दिन्छ आड ?

शैशवकालदेखि सँगै बसेका यी तीन वृद्धसँग अहिले आफूहरूबाहेक आडभरोसा केही पनि छैन । कम्पपीडित भए पनि सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१०, बडघरेका तीन भाइसँग’भूकम्पपीडित परिचयपत्र’ छैन । परिचयपत्र नभएकैले गाउँका सबैजसो भूकम्पपीडितले सरकारसँग तीन लाख रुपैयाँको अनुदान सम्झौता गर्दा पनि यी तीन भाइ भने अछूतो रहे । कारण थियो, लालपुर्जा नहुनु । आफूसँग भएको जमिन एक दशकअगाडि ऋण तिर्न नसकेर बेच्नु परेपछि यी तीन भाइ भूमिहीन भएका छन् । जसलाई जमिन बेचे उसैले बाँचुन्जेल बास बस्नका लागि दिएको ठाउँमा बसिरहेका यी अब केवल सरकारको दयाको आशमा छन् ।’हामीलाई सरकारले दयामायाले दिनुभयो भने हात थापौंला, होइन तेरो केही छैन पाउँदैनस् भने चुप लागेर बसौंला । अब कति बाँचिएला र ? जति बाँचिन्छ यही छाप्रोमा कटाऊँला । भाग्यमा नभएको सुख खोजेरमात्र कहाँ भयो र ?’, तीनमध्येका कान्छा बलराम श्रेष्ठ भन्छन् । यो कथा हो ९१ वर्षीय खड्क श्रेष्ठ, ८४ वर्षीय तुलसीदास श्रेष्ठ र ८१ वर्षीय बलराम श्रेष्ठको । कुनै बेला पाँच पाण्डवजस्तै पाँच भाइ थिए यी । जेठा र माइला दाजु उमेरमै बिहे गरेर बुटवल गएछन् । बिहे गरेका दाजुहरूसँग सम्बन्ध टाढियो । आफन्त पनि बाँकी रहेनन् । दाजुहरूको बिहेपछि सम्बन्ध तोडिएको घटनाले विक्षिप्त तीनै भाइले बिहे गर्ने आँट गरेनछन् । एक हल मेलोको जमिन थियो ऋणले खाइदियो । केवल बाँकी छ गलेको शरीर, थाकेको नजर केही झिना आशा । तैपनि हिम्मत हारेका छैनन् । बूढो भइयो भनेर कुँजिएर बसेका पनि छैनन् । खड्क रोग र उमेरले थलिएका छन् । बसेको ठाउँबाट उठ्न सक्दैनन् । तुलसीदास र बलराम भने जीवन धान्ने मेसो गरिरहेछन् । भूकम्पपश्चात् गाउँमा विभिन्न संघसंस्था आए । तिनले दिएका सामान राहतमार्फत लिए यी दाजुभाइले पनि । सरकारले भूकम्पलगत्तै दिएको पन्ध्र हजार र जाडोमा दिएको १० हजार रुपैयाँ लिएका थिए ।आम्दानीको स्रोतका रूपमा छन्— पाँच गाई र एक बाख्रा । अनि छ हावाहुरी नछेक्ने, पानी नओत्ने मात्र टाउको लुकाउने टिनैटिनको एउटा छाप्रो, त्यो पनि विभिन्न संघसंस्थाले बनाइदिएको । घर थियो भूकम्पले लगिदियो ।  यत्ति नै हो सरकारबाट अहिलेसम्म उनीहरूले पाएको सहयोग । योबाहेक कुनै लाभ कसैबाट लिएको छैन यो परिवारले । लाभ लिने आशा पनि नभएको बताउँछन् यी । उमेरले डाँडा काटिसक्यो । दुईचार बाख्रा बेचेर, सामान्य खेतीपाती बेचेर गुजारा गर्दै आएको श्रेष्ठ परिवार अहिले चरम संकटमा छ । सरकारले दिने भत्ता र एक हल खेतीबाट आउने आम्दानीले टिकाएको छ यो परिवारलाई । सरकारले लालपुर्जा हुनेसँग अनुदान सम्झौता गर्‍यो । श्रेष्ठ परिवार र यीजस्ता अरूभने आवश्यक कागजात जुटाउन नसक्दा छुटेका छन् । घरधुरी नहुनु, लालपुर्जा नहुनु गरिबीको दोष भन्न सकिएला तर गरिबीकै कारण पुनर्निर्माणको अनुदान सम्झौता गर्न नपाउनु सरकारको दोष हो ।

Spread the love