बडा दशैंको पहिलो दिन, आज घटस्थापना

हिन्दुधर्मावलम्बीको ठूलो पर्व दसैं  आजदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा  जमरा राख्ने गरिन्छ ।नवरात्रको पहिलो दिन आज दसैं घरमा विधिवतरुपमा ११ः२९ को शुभ साइतमा जमरा राखिएको हो । बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थhलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँ घरमा विधिपूर्वक राखेर त्यसमा जौं रोपिन्छ । दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ। महाकालशक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ।

विजयादशमीका दिन यसलाई रातो टीकाका साथमा समृद्धिको प्रतीक मानेर पहेंलो जमरा लगाइने गरिन्छ । जौंको जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन जमरा लगाइने गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ। नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पनि गर्ने गरिन्छ। यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ।

 

Spread the love