अमेरिकामा आईआरएस र युएससीआईएस नक्कली फोनको जगजगी

आफू आईआरएसबाट बोलेको भन्दै ठगहरुले सर्वसाधारणहरुसँग रकम माग्ने गरेका छन् । उनीहरुले फोन गरेर ट्याक्स राम्रोसँग फाइल नगरेको वा अरु विभिन्न कारण देखाउदै तत्काल रकम नतिरे पक्राउ गर्ने वा डिपोर्टेशन गर्नेसम्मका धम्की दिने गरेका छन् । न्युयोर्कमा कानुन व्यवसाय संचालन गरिरहनुभएका बरिष्ठ कानुन व्यवसायी खगेन्द्र क्षेत्रीले खसोखाससँग कुरा गर्दै भन्नुभयो –“केही समयको अन्तरालमा दर्जनौं नेपालीहरुले आफू यस्ता फोनकलबाट पीडित भएको जानकारी हामीलाई गराएका छन् । उनीहरुमध्ये केही ठगिन समेत पुगेका छन् । अमेरिकामा अहिले आईआरएस र युएससीआईएसबाट फोन गरेको भन्दै ठगहरुले सर्वसाधारणलाई धम्क्याएर रकम असुल्ने क्रम जारी नै छ ।  त्यस्तै आफू युएससीआईएसबाट बोलेको भन्दै उनीहरुले अध्यागमन सम्बन्धि सुचना नसच्याएको वा अरु विभिन्न कारण देखाउँदै रकम नतिरे पक्राउ गर्ने वा डिपोर्टेशन गर्ने धम्की दिने गरेका छन् । ठगहरुबाट आएका यस्ता फोनबाट पीडित नेपालीहरुको संख्या समेत निकै ठूलो रहेको छ । पाठकबृन्द, आफूलाई युएससीआईएसको अधिकारी भन्दै फोन गर्नेहरुबाट अमेरिकामा हजारौं व्यक्ति ठगिइसकेका छन् । यसरी ठगिनेमा कैयन नेपालीहरु समेत रहेका छन् । हामीले युएससीआईएसको अधिकारी बताउँदै फोन गर्नेहरुबाट ठगिएका केही व्यक्तिका अनुभवहरु यहाँ प्रस्तुत गरेका छौं । पीडितहरुले यि अनुभवहरु युएससीआईएसलाई जानकारी गराएका  छन् । 

 ” ठगहरुले फोन गर्नासाथ केही नेपालीले कानुन व्यवसायीहरुसँग सम्पर्क गरेर यसबारे सोधपुछ गरेका भएपनि कैयन नेपालीहरु भने हतासमा ठगिन पुगेका छन् । दर्जन नेपालीले आफू ठगहरुका फोनकलबाट पीडित रहेको क्षेत्री ल फर्ममा जानकारी गराएका हुन् । त्यो बाहेक ठगीका फोनकलबाट पीडित नेपालीहरुको संख्या अमेरिकामा निकै ठूलो रहेको छ । केही पहिले आईआरएसबाट फोन गरेको भन्दै रकम माग्ने ठगलाई बोष्टनका एकजना नेपालीले १० हजार अमेरिकी डलर बुझाएका थिए । ठगले उनलाई तुरुन्तै फामेर्सीमा गएर भौचरमार्फत रकम नतिरे पक्राउ गर्ने र डिपोर्टेशन गर्ने धम्की दिएपछि ति नेपालीले हतासिएर ठगलाई रकम बुझाएका छन्  । तुरुन्तै कसरी रकम तिर्ने भन्ने तरिका पनि उनीहरुले नै सिकाउने गरेका छन् । फोन गर्नेहरु भारतीय लवजमा बोल्ने गर्छन् । कानुन व्यवसायी क्षेत्री भन्नुहुन्छ –“उनीहरुले आईआरएसको भन्दै फोन नम्बर पनि दिने गरेका छन् । कलब्याक गर्दा सुरुमै आईआरएस अफिस भन्दै फोन उठाउँछन् ।  प्राय भारतीय लवजमा व्यक्ति बोल्ने भएकाले र अमेरिकाले यस्तो गिरोहको पहिचान गर्न वा पक्राउ गर्न नसकेकाले इन्टरनेटको माध्यमबाट यो गिरोह भारतबाटै सकृय रहेको अनुमान पहिलेदेखि नै गरिदै आएको थियो । यस्ता ठगहरुबाट ठगिनेहरु नेपाली, भारतीय र भर्खर अमेरिकामा आएका अन्य देशका नयाँ आप्रवासीहरु समेत रहेका छन् ।  अहिलेम्मका घटना हेर्दा यस्तो ठगीमा गिरोह नै सकृय रहेको आशंका गरिएको छ । त्यसैले यस्ता फोनकलहरु आएमा कुरा नगर्न र आधिकारिक सरकारी निकायहरुमा खबर गर्न आईआरएस र युएससीआईएसले अनुरोध गरेको छ ।

युएससीआईएसबाट भन्दै मलाई पनि फोनकल आयो । म अमेरिकामा नयाँ नयाँ हुँ, त्यसैले मलाई यो ठगको फोन भन्ने थाहा भएन । मैले सोंचे युएससीआईएसले कुनै विषयमा भेरिफाइ गर्नका लागि फोन गरे होला । मैले मेरो पासपोर्ट नम्बर, भिसा नम्बर, जन्ममिति समेत दिएँ । त्यसपछि उसले मलाई ११ सय डलर तिर्न भन्यो । उसले नजिकैको स्टोरमा गएर पैसा ट्रान्सफर गर्न भन्यो । त्यसपछि मलाई शंका लाग्यो अनि मैले फोन काटिदिएँ । तर मैले उसलाई मेरा व्यक्तिगत जानकारीहरु दिएकाले मलाई निकै डर लागिरहेको छ ।

Spread the love