ओलीको चुनाव, दाहाल–नेपालको सडक

काठमाडौं : स्थिर सरकार र एउटै कम्युनिस्ट केन्द्र बनाउने वाचासहित ०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो। पार्टी एकता ३१ महिना पनि टिक्न सकेन। अन्ततः यही पुस ७ गते नेकपा दुई टुक्रा भयो। दुवै पक्ष.नेकपाकै नाममा वैधानिकताको खोजी गरिरहेका छन्। नेकपाको ओली पक्षले पार्टी पंक्तिलाई एकढिक्का बनाई निर्वाचनको मुख्य एजेन्डामा केन्द्रित गराउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले मुलुक निर्वाचन उन्मुख भइसकेको र वैशाखमा प्रतिनिधिसभा निर्वाचनको मितिसमेत तोकिएकाले संगठन विस्तार र निर्वाचन तयारीमा पूर्ण शक्तिका साथ परिचालन हुने निर्णय गरेको हो।

अर्कातिर एकअर्काविरुद्ध जुध्ने गरी कार्ययोजना बनाई अगाडि बढेका छन्। ओली पक्ष प्रतिनिधिसभा विघटनलाई स्वागत गर्दै निर्वाचनसँगै गाउँ तहसम्मै जान लागेको छ। दाहाल–नेपाल पक्ष भने प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा लिएर गाउँ तहसम्मै आन्दोलनमा जाने तयारीमा छ। दुवै पक्षका बिहीबार बसेका केन्द्रीय समिति बैठकले त्यहीअनुरूपका कार्ययोजना तय गरेका हुन्।   ओली समूहले सोमबारै पार्टीको विधान संशोधन गर्दै केन्द्र्रीय समिति ११९९ सदस्यीय पुर्‍याएको थियो।   विधानसमेत संशोधन गरी पार्टीका आधिकारिक दस्ताबेज र पत्रहरूमा प्रथम अध्यक्षको मात्र हस्ताक्षर चल्ने व्यवस्था गरेको छ। संशोधित विधानलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर यो पक्षले निर्वाचन आयोगमा विधान संशोधनसहित सबै कागजपत्र बुझाएको छ।

Spread the love