अमेरिकामा चीनबाट आउने यात्रुहरूको अनिवार्य कोभिड परीक्षण

कोरोनाभाइरस सङ्क्रमण उल्लेख्य रूपमा बढिरहेको भए पनि चीनले आफ्नो सीमा पुन: खुला गर्ने घोषणा गरेसँगै अमेरिकाले नयाँ नियमको घोषणा गरेको छ । अमेरिकाले चीनबाट आउने यात्रुहरूले अनिवार्य रूपमा कोभिड परीक्षण गर्नुपर्ने नियम लागु गर्ने भएको छ। उक्त नियम ज्यानुअरी ५ बाट कार्यान्वयनमा आउनेछ ।

चीनका छिमेकी देश भारत, जापान र ताइवान तथा इटलीले पनि कोभिड परीक्षणलाई अनिवार्य बनाएका छन्। तर अस्ट्रेलिया र यूकेले चीनबाट आउने यात्रुका लागि त्यस्तो नियम नभएको बताएको छ।

अहिले चीनमा कोभिडका बिरामीहरूको सङ्ख्या बढेको छ जसका कारण केही देशले कोभिडसम्बन्धी आफ्ना नियम पुनर्विचार गर्दैछन्। ठूला सहरहरूमा बिरामीको ठूलो चाप छ र मानिसहरूेल सामान्य औषधि पाउन पनि निकै सङ्घर्ष गर्नुपरेको विवरणहरू प्रकाशित भएका छन्।सोमवार र मङ्गलवार चीनले देशबाट बाहिर जाने वा देशमा भित्रिनेहरूलाई यात्रा सहज बनाइने घोषणा गरेको हो।

अमेरिकाको स्वास्थ्य मन्त्रालयका अनुसार यात्रुले विमान चढ्नुभन्दा ४८ घण्टाअघि आफूलाई कोभिड नभएको पुष्टि गर्नुपर्छ। त्यसका लागि पीसीआर वा र्‍यापिड एन्टिजन परीक्षण गर्नुपर्नेछ ।

Spread the love