केन्द्रीय बैंकले चालु पुँजी कर्जामा कडाइ

केन्द्रीय बैंकले चालु पुँजी कर्जामा कडाइको असर शेयर बजारमा पनि परेको बजार विश्लेषकहरुले बताएका छन् ।   गत साता साइडवेजमा रहेको शेयर बजार पछिल्लो दुई दिन बिहीबार र शुक्रबार भने दोहोरो अंकले घटेको छ । चालु पुँजी कर्जामा राष्ट्र बैंकले गरेको कडाईको असर शेयर बजारमा पनि परेको बजार विश्लेषकहरुले बताएका छन् ।  समग्रमा गत साता बजार ४५.६४ अंकले घटेर २०२२.६२ अंकमा पुगेको छ । शेयर धितोमा पाइने मार्जिन कर्जामा गत वर्षदेखि नै कडाई गरेको राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ जारी गरेर चालु पुँजी कर्जामा पनि कडाई गरेको छ ।

क्यास कन्भर्सन साइकल, डेज सेल्स आउटस्ट्यान्डिङ, इन्भेन्ट्रि कन्भर्सन पिरियललगायतको विश्लेषण गरी विशेष प्रकृतिको आवश्यकता देखेमा सो कारणमहरु उल्लेख गरी वार्षिक कारोबार वा बिक्रीको अधिकतम ४० प्रतिशतसम्म चालु पुँजी कर्जा दिने सकिने विशेष व्यवस्था समेत मार्गदर्शन २०७९ मा गरिएको छ । मार्गदर्शनमा २ करोड रुपैयाँभन्दा कम रकमको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा वार्षिक कारोबारको अधिकतम २० प्रतिशतसम्म मात्रै कर्जा दिन सक्ने उल्लेख छ ।

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ राष्ट्र बैंकले गत मंगलबार बेलुका सार्वजनिक गरेका थिए । बुधबारसम्म धेरै घट्दा पनि नघट्ने र बढ्दा पनि नबढ्ने गरी साइडवेजमा चलेको थियो । राष्ट्र बैंकले चालु कर्जासम्बन्धी मार्गदर्शन जारी गरेपछिको गत बिहीबार र शुक्रबारको शेयर बजार भने दोहोरो अंकले घटेको थियो । नेप्सेका अनुसार बिहीबार नेप्से परिसूचक १८.३१ र शुक्रबार १६.९२ अंकले घटेको थियो । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसुचक २०२२.६२ अंकमा बन्द भएको छ । साताभरिमा बजार ४५ अंकले घटेको छ ।

‘बजार घट्नुपर्ने मुख्य कारण त केही छैन । बजार दुई दिन घट्यो । ३०–४० अंक घटेको बजारलाई हेरेर बजार झर्यो भनेर भन्नुपर्ने अवस्था जस्तो मलाई लाग्दैन । लाभांश घोषणा गरेर धमाधम साधारण सभा गर्ने बेला पनि आउँदैछ । यो समय भनेको सस्तो शेयर छानी छानी किन्ने समय भने हो ।’–नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकालले भने – ‘पछिल्लो दुई दिन घट्नुमा राष्ट्र बैंकको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनले पनि केही हदसम्म भुमिका खेलेको छ । उद्योगको चालु पुँजी भनेपछि कही न कही घुमाएर पुँजी बजारमा आइ हाल्थ्यो । त्यस्ता कर्जाहरुमा जति जति कडाई गर्दै गयो, यता बजारमा असर गर्नु स्वभाविक पनि हो ।’

Spread the love