बसन्तपुर विश्वसम्पदा सूचिबाट हट्ने खतरामा

काठमाडौं÷राजधानीमा मुख्य पर्यटकीय स्थलमध्ये बसन्तपुर दरबारस्क्वायर क्षेत्रको सौन्दर्यमा ह्रास आउने क्रम जारी रहेको छ । अतिक्रमण, अव्यवस्थित सहरीकरण र राजनीतिक दल एवं सर्वसाधारणमा चेतनाको अभावले गर्दा सन् १९७९मा युनेस्कोले विश्वसम्पदामा सूचीकृत बसन्तपुरको सौन्दर्यमा दिनानुदिन ह्रास आइरहेको हो ।
बसन्तपुर क्षेत्रको व्यवस्थापकीय जिम्मेवारी काठमाडौं महानगरपालिकाअन्तर्गत हनुमानढोका संग्रहालय विकास समितिलाई दिइएको छ । समितिले बसन्तपुर दरबार क्षेत्र प्रवेश र अवलोकनका लागि प्रतिपर्यटकबाट सात सय ५० रुपैयाँ लिन्छ । तर पर्यटकले तिरेको मूल्य बराबरको सेवा, सुविधा र वातावरण अनुभूत गराउन नसकेको जनगुनासो आउने गरेको छ । त्यसैले उसको कारणले गर्दा पनि यस क्षेत्रमा थप समस्या उत्पन्न भइरहेको छ ।
अनियन्त्रित भीडभाड, अव्यवस्थित फुटपाथ पसल, सवारी आगमन र जथाभावी सवारी पार्किङका कारण बसन्तपुर दरबार क्षेत्रको सौन्दर्यमा आँच आइरहेको छ ।
पानी पर्दा सामान्य ओत लाग्ने र घाम लाग्दा शीतल महसुस गर्ने स्थाल छैन भने सार्वजनिक शौचालयको पर्याप्त प्रबन्ध नहुनु र फोहोर फाल्ने क्षेत्रसमेत नभएको हुनाले बसन्तपुर थप कुरुप बनेको छ । सडक बालबालिकाको अखडा र पर्यटकलाई जबर्जस्ती सामान भिराउने घुमन्ते व्यापारीको व्यवहारबाट पनि पर्यटकले सास्त बेहोर्नुपरिरहेको छ ।
फुटपाथमा राखिएका पसलहरुका कारण पैदल यात्रा गर्नेहरुलाई अवरोध सिर्जना गरेको छ । यस्तै ठाउँठाउँमा खोलिएका क्युरियो पसल र त्यहाँका व्यपारीले पर्यटकलाई अनावश्यक हैरान पार्ने गरेका छन् । बसन्तपुरको सौन्दर्य हेर्न आएका स्वदेशी र विदेशी पर्यटकहरुका लागि माग्नेहरुसँग उम्किन पाउनु एउटा चुनौतीकै रुपमा खडा भइदिन्छ । साँघुरो सडक र त्यसमा अव्यवस्थित ढंगले रोकिएका सवारीसाधनले बसन्तपुरलाई झन् ठेलमठेल बनाएको छ । अव्यवस्थित ढंगले रोक्नेमा निजी क्षेत्रका साथै सरकारी नम्बर प्लेटका गाडीको संख्या अत्यधिक हुने गरेको छ ।
यस्तै अवस्था रहिरहने हो भने कुनैपनि बेला बसन्तपुर दरबारस्क्वायर क्षेत्र विश्वसम्पदा सूचीबाट हट्न सक्ने खतरासमेत बढेर गएको छ ।
अत्यधिक भीडभाडका कारण वातावरण खलबलिएको भन्दै युनेस्कोले सन् २००३ मा काठमाडौंका अन्य सात स्मारकसँगै बसन्तपुर दरबार क्षेत्रलाई समेत खतराको सूचीमा राखेको थियो । बसन्तपुर क्षेत्रलाई सुधार गर्ने सरकारको प्रतिबद्धता र सुधारका केही कार्यक्रम ल्याएपछि सन् २००७ मा भने युनेस्कोले बसन्तपुर दरबार क्षेत्रलाई खतराको सूचीबाट हटाएको थियो । तर, त्यसबेला गरिएका प्रतिबद्धताहरु भने अझै पूरा हुनसकेका छैनन् ।
विश्वसम्पदामा सूचीकृत भएपछि केही प्रावधानहरु स्वीकार गर्नुपर्ने हुन्छ । सम्पदामा सूचीकृत स्थलमा सभासम्मेलन गर्न नपाइने प्रावधान छ । यसैगरी सवारी प्रवेश निषेध, टेलिफोन र बिजुलीका तार जमिनमुनिबाट लग्नुपर्ने, संरचना मर्मतसम्भारका नाममा आधुनिक बनाइन नपाइने, वातावरण खल्बलाउने कुनै पनि गतिविधि गर्न नपाइने युनेस्कोको प्रावधान रहेको छ । तर, पुरातत्व विभागले यसो बताइरहँदा पनि महानगरपालिकाले वास्ता गरेको देखिँदैन । बसन्तपुर दरबार क्षेत्रमा अनियन्त्रित भीडभाडका बीचमै सधैं कुनै न कुनै नाममा सभासमारोह भइरहेका छन् । ठूलो स्वरमा संगीत बजाइन्छ, राजनीतिक दलले आयोजना गर्ने विभिन्न कार्यक्रममा लाउड स्पीकर र शक्तिशाली साउन्ड सिस्टम प्रयोग गरिन्छ । यति मात्रै होइन कतिपय राजनीतिक दलले आफ्नो राँके जुलसको उद्गम वा समापनको थलो नै बनाउने गरेका छन् बसन्तपुर दरबार क्षेत्रलाई ।
बसन्तपुरका मन्दिर तथा ऐतिहासिक सम्पदा सबैको चासोको विषय बन्ने गरेको छ । समयसँगै यी संरचनाहरु जीर्ण बन्दै गएका छन् । तर, वर्षेनी करोडौं रुपैयाँ राजस्व संकलन हुने यस क्षेत्रको मर्मत र सम्भारका लागि कुनै पनि निकाय गम्भीर भएको देखिँदैन । सधैंको भीडभाड र मर्मतसम्भारको अभावको कारण खतरा बढ्दै गएको स्वयं हनुमानढोका संग्रहालय प्रमुख बताउँछन् ।
यस क्षेत्रमा रहेका प्राचिन मठमन्दिर, दरबार र संग्रहालयलगायतका ऐतिहासिक सम्पदाले वर्षेनी लाखौं पर्यटकलाई आकर्षित गरेको छ । दरबार क्षेत्रको सौन्दर्य र त्यहाँका घर, मठमन्दिर एवं देवलहरुमा कुँदिएका कलाकृति इतिहासकै पानाझैं रहेका छन् । दरबार क्षेत्रको सौन्दर्य, जीवित कुमारीको दर्शन गर्ने होस् या काठमाडांैको इतिहास जान्न खोज्नेहरु नै किन नहोस्, यहाँ ठूलो भीड हुन गर्दछ ।
काठमाडौं महानगरपालिकाअन्तर्गत रहेको बसन्तपुर दरबार क्षेत्रमा १२ देखि १८औं शताब्दीमा निर्माण गरिएका हिन्दू र बौद्धधर्मसँग सम्बन्धित धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरु छन् । यहाँ मल्ल र शाहवंशीय राजाले बनाएका दरबारसँगै दर्जनौं मठमन्दिर छन् । लामो समयसम्म राजा महाराजाको बसोबास रहेकाले यस क्षेत्रमा थुपै्र दरबार, मठमन्दिरलगायतका ऐतिहासिक महत्वपूर्ण सम्पदा रहेको पाइन्छ ।

Spread the love