प्रतिनिधिसभा/राष्ट्रियसभा संसद् अधिवेशन फागुन २१ मा

काठमाडौं :  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट संसद् (प्रतिनिधिसभा/राष्ट्रियसभा) को अधिवेशन आह्वान हुने संवैधानिक व्यवस्था छ।  संसद् अधिवेशन फागुन तेस्रो साता डाक्ने गरी सरकार र संसद् सचिवालयले गृहकार्य सुरु गरेका छन्।प्रतिनिधिसभा निर्वाचन मंसिर १० र २१ गते सम्पन्न भए पनि निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा रोकेका कारण अधिवेशन बस्न पनि ढिलाइ भएको हो। संविधानको धारा ९३ ले प्रतिनिधिसभाको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद् अधिवेशन बस्नुपर्ने व्यवस्था गरेको छ।  निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेका कारण त्यसको केही दिनअघि संसद् अधिवेशन बस्ने गरी गृहकार्य सुरु गरिएको हो। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि अधिवेशन बस्न लागेको हो।  मुख्यसचिव लोकदर्शन रेग्मी र संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईबीच संसद् अधिवेशनको तयारी र गृहकार्यबारे शनिबार छलफल भएको थियो। त्यसक्रममा फागुन २१ गते बस्ने गरी संसद् अधिवेशन बोलाउने विषयमा सरकार र सचिवालयबीच मोटामोटी समझदारी बनेको हो।  सांसदहरू जनताबाट निर्वाचित भए पनि अधिवेशन नबसेका कारण शपथ लिनबाट रोकिएका छन्। शपथ नलिएका कारण उनीहरूको पदावधि र सुविधाबाट पनि वञ्चित भएका छन्। संसद् सचिवालयले अधिवेशनको अघिल्लो दिन वा त्यसैदिन सांसदहरूको शपथ खुवाउने गरी तयारी गरेको छ।

Spread the love