सुनको भाउ महंगियो

सुनको भाउ महंगियो

आज सुनको भाउ महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख २०० रुपैयाँमा कारोबार भइरहेको छ ।    चाँदीको भाउ भने स्थिर रहेको छ ।

हिजो सुन प्रतितोला एक लाख ५०० रुपैयाँ कायम रहेको थियो । शुक्रबारदेखि चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जरमा

नेरुडे लघुवित्त वित्तिय संस्था लिमिटेड (NLBBL) र मिर्मिरे लघुवित्त वित्तिय संस्था लिमिटेड (MMFDB) ले एक आपसमा गाभिने (मर्जर) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर  गरेको छ ।

दुई संस्थाबीच १ः१ को सेयर आदानप्रदान अनुपातमा मर्जरमा जाने सहमति भएको स्रोतले जनाएको छ । मर्जरपछि भन्ने लघुवित्तको नाम मेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था रहेने सहमति भएको छ ।

मोरङ्ग जिल्ला बिराटनगर महानगरपालिका वडा नं. ३ मा केन्द्रीय कार्यालय रहेको नेरुडे लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ८ मा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त बिच पौष ११ गते अपरान्ह ४:०० बजे बिराटनगरमा आयोजित कार्यक्रममा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।अब दुबै लघुवित्तका आधारभुत शेयरधनीहरुको नेपाल स्टक एक्सचेञ्जमा कारोबार रोक्का हुने भएको छ।

अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउँछु : उपप्रधान तथा अर्थमन्त्री पौडेल

राष्ट्रपति कार्यालयमा सपथ ग्रहणपछि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पुगेर नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहणपछि पौडेलले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै सङ्कटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउन र व्यवस्थित गर्नका लागि आफूले काम गर्ने बताउनुभयो । “अर्थतन्त्रका अहिलेका चुनौतीहरू के हुन् ? ती चुनौती सिर्जना हुनुको कारण के हो ? त्यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण के  हुन् ? र तिनको समाधानका लागि के कदम चाल्नुपर्छ ? भन्ने विषयमा सबै क्षेत्रका विज्ञसँग सघन छलफल गर्नेछौँ”, उहाँले भन्नुभयो, “अर्थतन्त्रका समस्या पहिचान गर्ने र त्यसको समाधान गर्ने आत्मविश्वासका साथ यो जिम्मेवारीमा आएको छु ।”

दलहरूको भागबन्डामा परेर आफू अर्थमन्त्री बनेको नभई निर्वाचनपछि जनताले दिएको जिम्मेवारी पूरा गर्न आएको पनि उहाँको भनाइ छ । “हामी भागबण्डामा होइन कर्तव्य निर्वाहमा विश्वास गर्छौं । निर्वाचनको नतिजास्वरूप यो सरकार बनेको हो र मुलुकलाई नेतृत्व गर्ने अभिभाराअनुसार हामी आएका हौँ”, उपप्रधान तथा अर्थमन्त्री पौडेलले भन्नुभयो ।

नेपालको विकासका लागि बेल्ट एण्ड रोड सहकार्य – चीन

११ पुस, काठमाडौं : चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मन्त्रालयकी प्रवक्ता माओ निङले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकोमा बधाई दिँदै नेपालको सामाजिक र आर्थिक विकासले गति लिने विश्वास व्यक्त गरेकी छन् ।  ‘हामी नेपालमा सहज ढंगले आम निर्वाचन सफल भएको बारेमा जानकार छौं । प्रचण्डलाई नेपालको नयाँ प्रधानमन्त्री नियुक्ति भएकोमा हार्दिक बधाई छ । नेपाल सरकार, नागरिकको साझा प्रयास, विभिन्न राजनीतिक दल र शक्तिहरूको परामर्श र समन्वयबाट नेपालमा स्थायित्व र दिगो सामाजिक आर्थिक विकास हुने विश्वास चीनको छ,’ ।   प्रेसमिटलाई सम्बोधन गर्ने क्रममा सञ्चारकर्मीहरू जिज्ञासालाई सम्बोधन गर्दै चिनियाँ विदेश मन्त्रालयले उक्त धारणा सार्वजनिक गरेको हो ।

 

 

अर्थमन्त्रीमा विष्णु पौडेल आउने चर्चासँगै तिब्र गतिमा शेयर बजार वृद्धि

संसदमा दोस्रो ठूलो नेकपा एमालेको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी र जनमत पार्टी लगायत सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्न लागेका हु्न । नयाँ मन्त्रीमण्डलमा एमालेको तर्फबाट अर्थमन्त्रीको जिम्मेवारीमा एमाले उपाध्यक्ष विष्णु पौडेलले नेतृत्व गर्ने तयारी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकी ४ बजे प्रधानमन्त्रीको सपथ लिंदैछन् ।

पौडेल पुनः अर्थमन्त्री हुने चर्चासँगै शेयर बजार तिब्र गतिमा बढ्न थालेको छ । नेप्से परिसूचक १८८० र पछिल्लो ३२०० हुँदा विष्णु पौडेल नै अर्थमन्त्री थिए । शेयर मैत्री छवी बनाएका पौडेल अर्थमन्त्री बन्ने चर्चा सँगै शेयर बजार  ४७ विन्दुले बढेर नेप्से परिसूचक १९१४ मा पुगिसकेको छ ।

आँधिखोला लघुवित्तको ३०% बोनस शेयर प्रस्ताव

आँधिखोला लघुवित्त वित्तिय संस्था लिमिटेड (AKBSL) ले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई ३०% बोनस र १.५८% नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ३१.५८% लाभांश वितरण गर्ने घोषणा गरेको छ। लघुवित्तको पौष ८ गते साँझ ५:०० बसेको संचालक समितिको १६५औं बैठकले सो सम्बन्धी निर्णय गरेको हो।

बैठकले आर्थिक बर्ष २०७८/७९ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु।११ करोडको ९० लाख को ३०% अर्थात रु ३ करोड ५७ लाख बराबरको बोनस शेयर तथा १.५८% अर्थात रु १८ लाख ७८ हजार ९४७.३७ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त

१० पुस, काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । स्वतन्त्र सांसदहरु प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंहले पनि उनलाई समर्थन गरेपछि २७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले १६९ सांसदको समर्थन पाएका छन् ।  आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । प्रतिनिधसभामा  निर्वाचनमा कुनै पनि एक दलको बहुमत नआएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार मिलीजुली सरकार बनाउन आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी थिइन् ।

प्रधानमन्त्रीमा आलोपालोको सहमति

 पुस, काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ । १६६ सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ ।

 

इक्यान ललितपुर शाखाको साधारण सभा सम्पन्न

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुर शाखाले हालसालै आफ्नो सातौँ साधारण सभा तनहुँको बन्दीपुरमा सम्पन्न गरेको छ।

बन्दिपुरको बन्दीपुर माउन्टेन रिसोर्टमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष उपेन्द्र देव ढकालले गर्नुभएको थियो। इक्यानका केन्द्रिय कार्यवाहक अध्यक्ष देवीदाश भट्टराईको प्रमुख अतिथिका रुपमा उपस्थिति रहेको थियो। शुभकामना मन्तव्यका क्रममा इक्यान केन्द्रिय तृतीय उपाध्यक्ष कृष्ण हरी केसीले ललितपुर इक्यान सँगको सामीप्यता यस इन्डस्ट्रीमा आफू रहेदेखी निकट रहेको र भविष्यमा पनि निरन्तर रहने कुरा जानकारी गराउँदै साधारण सभाको सफलताको शुभकामना ब्यक्त गर्नु भयो।


कार्यक्रममा बोल्दै इक्यानका केन्द्रिय सदस्य रत्न भट्टराईले कार्यक्रमको सफलताको शुभकामना दिनुका साथै आगामी दिनमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सम्बोधन गर्ने क्रममा इक्यान ललितपुर शाखाका पुर्व अध्यक्ष प्रकाश महत र निवर्तमान अध्यक्ष सुरेन्द्र पोखरेलले शाखाको उतरोत्तर प्रगतिकालागी सहयोग जारी राख्ने प्रतिवद्धता जनाउनु भयो। इक्यानका केन्द्रिय सचिव वासुदेव दाहाललेे आफु पहिला देखिनै ललितपुर शाखाका लागि साथ र सहयोग रहँदै आएको स्मरण गराउंदै अब पनि जारी रहने बताउनुभयो। कार्यक्रममा शाखाका उपाध्यक्ष अरबिन्द कुमार सिंहले स्वागत मन्तव्य व्यक्त गर्दै विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रम, तालिम, सभाहरुमा शाखाका सदस्यहरुको उल्लेख्य उपस्थितिका लागि इक्यानका केन्द्रिय प्रतिनिधिहरुको ध्यानाकर्षण गराउनुभएको थियो।

उक्त कार्यक्रममा शाखाका कोषाध्यक्ष सनम महर्जनले गत वर्षको आयव्ययको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव विरेन्द्र बज्राचार्यले शाखाका गतिविधिको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो।

थारु विद्यार्थीलाई सहरी मन्त्रीको सुझाव 

पुस–९, काठमाडौँ  : सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु समुदायलाई सिमान्तकृत हौँ भनेर दंग नपर्न सुझाएका छन् ।
पुल्चोक क्याम्पसमा शनिबार आयोजित थारु विद्यार्थी सभाको वार्षिक सभामा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री चौधरीले ‘सिमान्तकृत समुदाय हौँ भनेर दंग नपरौँ’ यस्तो धारणा राखेका हुन् ।
थारु समुदायले दुःख, गरिबीका कुरा मात्र गर्ने गरेको बताउँदै मन्त्री चौधरीले भने, ‘अब हामीले दुःखका, गरिबीका गीत मात्रै गाउने होइन । सिमान्तकृत समुदाय हौँ भनेर दंग पर्ने होइन । हिम्मतका, मिहिनेतका कुरा गर्नुपर्छ । सफलताका कथा सुन्नुपर्छ । दंगिशरण चौधरी राजा भएको इतिहास छ । थारुहरु प्रधानपञ्च, हेड मास्टर भएको इतिहास छ । पञ्चायतकालमा परशुनारायण राजदरबारका स्थायी सदस्य भएका थिए ।’
उतिबेला थारुहरुले समाजको अगुवाइ गरेको प्रशंग निकाल्दै मन्त्री चौधरीले थपे, ‘त्यो बेला पनि समाज मिश्रित थियो । आज पनि मिश्रित नै छ । त्यतिबेला नेतृत्व गरेको थारु समाज आज किन पछाडि पर्याे भनेर हामीले सोच्नुपर्छ । फेरि पनि हामीले समाजको अगुवाई गर्ने हिम्मत गर्नुपर्छ ।’
इन्जिनियरिङ पढ्नु आफैमा राम्रो भएको बताउँदै सहरी मन्त्री चौधरीले राजनीतिमा पनि अगुवाई गर्न थारु विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।