सगरमाथा शिखरसम्म पुग्न “अहिलेभन्दा सुरक्षित” बाटो

सगरमाथा शिखरसम्म पुग्न “अहिलेभन्दा सुरक्षित” बाटो बनिरहेको बताइन्छ। फ्रेन्च आरोही नेतृत्वको टोलीले सगरमाथा शिखरसम्म पुग्नका लागि “अहिलेभन्दा सुरक्षित” बाटो पत्ता लगाउने अभियानमा सफलता नजिक पुगेको दाबी गरेको छ। उनका ४२ वर्षीय छोरासहित चार जनाको समूहले आगामी सिजनमा नयाँ बाटो हुँदै सगरमाथा आरोहणको तयारी गरिरहेको छ।

आरोही मार्क बाटार्डले सगरमाथा आरोहणमा जोखिमपूर्ण मानिने खुम्बु आइसफल छलेर पहिलो शिविरसम्म पुग्ने वैकल्पिक बाटो प्रस्तुत गरेका हुन्। बाटो पत्ता लगाउने अभियानमा आफूहरू सफलता नजिक पुगेको दाबी गरे तापनि त्यसबारे व्यावसायिक आरोहण दलहरूले मुख नखोलिसकेकाले हाललाई त्यो सम्भाव्यता हेर्ने क्रममै रहेको धेरैले ठानेका छन्।

बढ्दो विश्वव्यापी तापमानबीच खुम्बु हिमनदी दिनदिनै अस्थिर बनिरहेको बताइन्छ। सन् २०१४ मा त्यहाँ सबेरै हिमपहिरो जाँदा १६ शेर्पाहरूले ज्यान गुमाएका थिए। कयौँ पश्चिमा कम्पनीहरूले आइसफलको त्यही जोखिम छल्न पछिल्ला वर्षमा नेपालबाट आरोहण अभियानलाई तिब्बततर्फ केन्द्रित गरेको बताउँदै आएका छन्। सगरमाथाको टुप्पोमा पहिलो पटक पाइला टेकेका एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले ७० वर्षअघि सगरमाथा आरोहण गर्दा प्रयोग गरेको यो बाटो हालसम्म परिवर्तन नभएको अनुभवी शेर्पाहरू बताउँछन्। हिमपहिरो र सहजै नदेखिने खोँचका कारण यो क्षेत्र पार गर्नु आरोहीहरूका लागि जोखिमपूर्ण मानिन्छ। दिउँसो हिमपहिरोको जोखिम हुने भएकाले आरोहीहरू बिहान उज्यालो नहुँदै यो ठाउँ पार गर्ने गर्छन्।

Spread the love