दाजु घर आउन है !

  • राजेन्द्र कार्की

दच्छिणी दाईले

उत्तरी भाईले

बारीमा डोजर चलाए

पुर्जा देखाउने हामीलाई

राइफल देखाए

दाजु घर आउन है !

_____________________________

गुराँसे डाँडालाई बमले उड़ाए

औंठा छाप नपाउँदा बैरीले

आमाको औंला चुणाए

हेर्दा-हेर्दै झन्डा ठड्याए

दाजु घर आउन है !

_____________________________

डाँफेको शिकारमा ब्यारेक बनाए

पानीको मुहानमा बाँध अड्याए

सुख्खा घाँटिमा आमा पानी

भन्दै तिम्रै नाम लिन्छिन्

दाजु घर आउन है !

______________________________

हिमाल हाँस्ने गाउँलाई घाट बनाए

चौंरी मारी सड़क बनाए

दिउँसै रात पर्यो हामीलाई

माटो फर्काउन,

आमा बचाउन,

बैनी जोगाउँन

दाजु घर आउन है !

Spread the love