जस्तोसुकै अवस्थामा पनि ‘बाँच्नु पर्छ’

– राजेन्द्र कार्की 

सम्बन्धमा जोडिन                 
नजरमा छोडिन 
आफ्नैका बिचमा 
लडेर उठ्न   
उठेर लड्न 
बाँच्नु पर्छ  ।

माटो  बाट छोड़िएर
जन्माउनेसँग तोड़िए
अन्माउँनेमा मोडिएर 
रोएर हाँस्न
हाँसेर रून 
बाँच्नुपर्छ  ।

‘हामी’ स्वाट्टै खुम्चिएर
‘म’ ह्वात्तै फैलिएर 
भाइलाई लात्ती हानेर 
नरम बाट कठोर 
कठोर बाट नरम हुन 
बाँच्नु पर्छ।

जन्मघर भासिएर
आफन्त मासिएर 
चूल्होमा आमा
पिँडीमा बाउ
आफ्नै–आफ्नै 
आँसुमा टाँसिएर
चेतबाट बिचेत
बिचेतबाट चेत हुन
बाँच्नुपर्छ । 

– हाल अमेरिका

Spread the love