पर्यटकीय नगरी सौराहामा प्यारामोटरको सफल उडान

Sauraha

चितवन, २७ पुस । पर्यटकीय नगरी सौराहामा नेपालमा नै पहिलो पटक प्यारामोटर व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको छ । हात्ती सफारी, जंगल सफारी, डुङ्गा सफारी, जगल वाक र जीप सफारी लिएका पर्यटकहरुलाई थप आकर्षित गर्न आकाशे सफारीको रुपमा परिचित प्यारामोटर सञ्चालन गर्न लागिएको हो । जसका लागि सौराहाको बूढी राप्ती किनारको सिसवार मैदानमा एक औपचारिक कार्यक्रमबीच झण्डै आधाघण्टाको परीक्षण उडान गरिएको थियो ।

३ वटा प्यारामोटर एकसाथ उडेका थिए । ‘सौराहा क्षेत्रको आकास त निकै सुन्दर देखिँदो रहेछ’, प्यारामोटरका पाइलट क्याथल फ्लाओरले भने, ‘हिमाल, पहाड र तराईका दृश्य एकसाथ देख्न पाइने, पर्यटक आकर्षित नहुने त कुरै छैन ।’ पर्यटकीय केन्द्र पोखरामात्र उपलब्ध यो सेवा होटल टाइगर वाइल्ड लाइफ क्यामका प्रबन्ध निर्देशक उत्तम पाठकको पहलमा सौराहामा सुरू हुन लागेको हो । आगामी माघ महिनाभित्र औपचारिक रुपमा प्यारामोटर नेपाल प्रा.लि.ले सुरु गर्न लागेको प्यारामोटरका सञ्चालक शैलेन्द्र राउतले जानकारी दिए । उनले दक्षिण एसियामा नै पहिलो पटक चितवनबाट प्यारामोटर व्यावसायिक उडान गर्न लागेको दाबी गरे ।

‘सौराहा पर्यटकीय दृष्टिले निकै अब्बल बन्दै गएको थियो’,सञ्चालक राउतले भने, ‘सौराहाको बसाई लम्बाउन म र मेरो साथी करणजङ्ग क्षेत्री मिलेर यो सुरू गर्न लागेको हो ।’   ‘यो सेवा सुरू भएसँगै सौराहाको बसाइ लम्बिनेमा ढुक्क छु’ अर्का सञ्चालक क्षेत्रीले भने, ‘प्यारामोटरबाट सौराहानजिकका क्षेत्रहरु आकासबाट आधाघण्टा र १ घण्टाको प्याकेजमा सौराहा आसपासको क्षेत्रको दृश्यालोकन गर्न पाउने छन् ।’ चितवन हवाई खेलका रुपमा उडान गर्न प्यारामोटरले यही पुस ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृति पाएको थियो ।

Spread the love