शोकमा डुब्यो थमन परिवार- गाउँ शोकमग्न

Thana-Bk-Family

नेपालगञ्ज -‘तीजमा म घर आउन पाउँदिन, तिमीले सबैलाई बोलाएर दर खुवाउनू’ असई बिकले विहीबार मात्रै पत्नी शोभालाई फोन गरेर यस्तो सन्देश दिएपछि उनी शुक्रबार बजारमा तीजका सामान किन्न गएकी थिइन् । शुक्रबार जतिखेर महोत्तरीमा सशस्त्र प्रहरीका घाइते असई थमनबहादुर बिकलाई एम्बुलेन्सबाट निकालेर आन्दोलनकारीले हत्या गरे, त्यसबेला उनकी पत्नी शोभा बिक नेपालगञ्जमा तीजका सामान किन्न व्यस्त थिइन् ।

आन्दोलनकारीको आक्रमणबाट थमनको मृत्यु भएको खबर दिउँसो टीभीमा छिमेकीले सुनेपछि शोभालाई सुनाएका थिए । त्यसपछि शोभा बजारमै मूर्छित भइन् ।घाइते बिकलाई अस्पताल लगिरहेका बेला आन्दोलनकारीले एम्बुलेन्सबाट निकालेर भाटाले पिटेर शुक्रबार हत्या गरेका थिए । थमन सशस्त्र प्रहरीबाट युएन मिसनमा जानका लागि हेटौडामा आन्तरिक परीक्षा दिएर कार्यक्षेत्र महोत्तरीमा खटिएका थिए । शान्तिपूर्ण आन्दोलनको दाबी गर्ने मधेसी मोर्चाका कार्यकर्ताले एम्बुलेन्सबाट झिकेर बिरामी अवस्थाका बिकलाई भाटाले कुटीकुटी हत्या गरे । मृतक असईकी आमा, श्रीमती र तीन वर्षको अवोध बालकले घटना सार्वजनिक भएदेखि अहिलेसम्म रोएका रोयै छन् । गाउँलेहरु पनि शोकमग्न छन् । थमनकी पत्नी शोभा विकलगायत उनको परिवार गहिरो शोकमा छन् ।

Spread the love