जोमसोम जाँदै गर्दा म्याग्दीको सोलिखोप्टेभीरमा तारा एयरको जहाज दुर्घटना

Tara air accident

काठमाडौं- गत फागुन १२ गते पोखराबाट जोमसोम जाँदै गर्दा म्याग्दीको सोलिखोप्टेभीरमा तारा एयरको जहाज दुर्घटना हुनुको कारण पाइलटको गल्ती औंल्याइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा बनेको तारा एयर दुर्घटना जाँच आयोगले आइतबार पर्यटनमन्त्रीलाई बुझाएको प्रतिवेदनमा मानवीय त्रुटिका कारण दुर्घटना भएको ठहर गरिएको छ । चालक दलले बादलभित्र पसिसकेको जहाज जमिन नजिक पुग्दा चेतावनी दिने प्रविधि ग्राउन्ड पोक्र्सिमिटी वार्निङ सिस्टम (जीपीडब्ल्यूएस) को चेतावनीलाई बेवास्ता गरेका कारण जहाजको तल्लो भाग पहाडमा धसिएर दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ । ‘चालक दलले जमिन नजिक पुग्दा पुलअप पुलअपको वार्निङलाई पूर्ण रूपले बेवास्ता गरको फेला परेको छ’, तारा एयरको अत्याधुनिक प्रविधिको ९ एन एएचएच कलसाइनको भाइकिङ नामक ट्विनअटर जहाज दुर्घटनाको प्रमुख कारण बादलभित्र प्रवेश गरेको हुन पुगेको आयोगका सदस्यसचिव तथा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए ।

बाटो बिराएको यो जहाज कालीगण्डकीलाई दाहिने पारेर जानुपर्नेमा बायाँ पारेर जानु नै गलत भएको थियो । जहाज उडाउने क्याप्टेन तथा कोपाइलटले नर्मल ट्र्याक छोडिसकेको जहाजमा आएको जीपीआरएस वार्निङलाई गरेको बेवास्ता नै दुःखद दुर्घटनाको कारणमा परिणत भएको आचार्यको बुझाइ छ ।

जहाज दुर्घटना पर्नुको कारण खराब मौसम हुनु, चालक दलले बाटो बिराउनु र पहिरोको भ्रम देख्नु, प्राविधिक स्रोतको भरपूर उपयोग हुन नसक्नु हो भनेर उल्लेख गरिएको छ । चालकदल सचेत भएर उडान नगर्नु, घोडेपानीबाटै फर्कनुपर्ने जहाज तातोपानी भन्ने ठाउँमा जान खोज्नु तथा आँखाले हेरेर गर्नुपर्ने उडान प्रविधि मेन्टेन नगर्नुले जहाज बादलभित्र छिरेर पहाडमा धसिएको उल्लेख छ ।

दुर्घटना जाँच आयोगका सदस्य तथा सिम्रिक एयरलाइन्सका इन्जिनियर रामप्रसाद कोइरालाका अनुसार जहाजमा आधुनिक प्रविधि भएरमात्रै हुँदैन त्यसको भरपूर उपयोग पनि हुनुपर्छ । जहाजमा भएको आधुनिक प्रविधिले मात्रै जहाजलाई बचाउन नसक्ने उनको बुझाइ छ । जहाज नयाँ–पुरानो भएर फरक पर्ने होइन प्रविधिलाई भरपूर उपयोग गर्न नसक्दा पनि जहाज दुर्घटना भएको पाइएको कोइरालाले जानकारी दिए । स्रोत :- अन्नपुर्ण पोष्ट

Spread the love