नागढुंगा-नौबिसे सुरुङमार्ग काठमाडौं पोर्टलबाट पनि खन्न सुरू

काठमाडौं:  धादिङतर्फबाट काम थालिएको निर्माणाधीन नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाले काठमाडौंतर्फ (पूर्वी पोर्टल) बाट पनि सुरुङ खन्ने काम सुरु गरेको छ। कुनै दुर्घटना परे वा भवितव्य भए एम्बुलेन्स लगायतका आपतकालीन सवारीको आउजाउका लागि यस्तो सुरुङ (स्केप टनेल) प्रयोग हुनेछ।  पुस ७ गतेबाट आयोजनाको धादिङतर्फ पश्चिम पोर्टलबाट सुरुङमार्ग खन्न सुरु गरिएको थियो। धादिङतिर हालसम्म करिब ३० मिटर खनिएको आयोजनाको इन्जिनियर कल्पना अधिकारीले बताइन्। अहिले दुई सिफ्ट (रात र दिन) मा काम भइरहेको छ।  बाहिर वाटर सप्लाइ, सडक विस्तार,कल्भर्ट, माटो भर्ने,संरचनाहरु निर्माण गर्न लगायतका कामहरु भइरहेका छन्। १४ महिनामा सुरुङ छेड्ने र त्यसपछि फिनिसिङको काम गर्ने सेड्युल बनाएर निर्माणको जिम्मा पाएको जापानी कम्पनी हाज्मा-आन्दो कर्पोरेसनले  तालिका बनाएर काम अघि बढाएको छ।  ४४ महिनामा यो आयोजना पूरा गर्ने सम्झौता छ। १५ महिनाअघि शिलान्यास गरेर काम थालिएको भए पनि मुख्य काम गत महिनामात्रै सुरू हुन सकेको हो। मुआब्जा विवाद, स्थानीयको अवरोध लगायतका कारणले करिब एक वर्ष कामले गति लिन कसकेो थिएन। करिब २.७ किलोमिटरको हुने सुरुङमार्गमा काठमाडौतिरको पोर्टल चन्द्रागिरि नगरपालिका-१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ।

Spread the love