पारस खड्काको राजनीतिमा पाइला

नेपाली क्रिकेटमा दशक लामो एकछत्र राज गरेका पारसले आफ्नो जगमगाउँदो खेलाडी करिअर त्यागे। ठ्याक्कै दुई वर्ष अगाडि पारस खड्काले सन्न्यासको घोषणा गर्दा क्रिकेट जगत् चकित बन्न पुगेको थियो। अझै खेल्न सक्थे वा उनको आवश्यकता अझै मैदान भित्रै भएको धेरैको ठम्याइ थियो। खेलाडी जीवनमा कैयौँले नरमाइलो मानेको समाप्ति भने उनको क्रिकेट राजनीतिक जीवनको सुरुआत थियो। मङ्गलवार काठमाण्डू जिल्ला क्रिकेट सङ्घको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुँदै उनले आफ्नो राजनीतिक यात्राको आधिकारिक सुरुआत गरेका छन्।

खड्का नेपाल क्रिकेट सङ्घको आसन्न प्रदेश र केन्द्रको निर्वाचनमा जुनसुकै पदमा लड्न पाउने बनेका छन्। एउटा कप्तानका रूपमा पारसको छवि खेलाडी र क्रिकेटको हकहितमा आवाज उठाइरहने ‘विद्रोही’ सिपाही जस्तै मानिन्थ्यो। त्यसका लागि खेलाडीको जर्सी लगाएरै उनको नेतृत्वले निरन्तर बलियोसँग आवाज उठाएको हो। सार्वजनिक मञ्चहरूमा सशक्तरूपमा बोल्न पारस कहिले पनि डराएको देखिएन।  खेलाडीका रूपमा जति आवाज उठाए पनि तात्त्विकरूपमा व्यवस्थापनमा परिवर्तन गर्न सकेको महसुस पारसले गर्न सकेनन्। राजनीतिमा होमिन खेल जीवन चटक्कै छोडेको उनको राजनीतिमा प्रवेशले पुष्टि गरेको छ। खेलाडीले क्यान पदाधिकारीको रूपमा प्रवेश गर्न कम्तीमा २ वर्ष अगाडि खेल्न छोडेको हुनुपर्ने नेपाल क्रिकेट सङ्घको नियम पूरा गर्न हिसाब किताब मिलाएर सन्न्यास लिने निर्णय लिएका हुन्।

Spread the love