खुम्बु क्षेत्र भ्रमणमा आएका पर्यटक फर्कने क्रम सुरु

काठमाडौं, १६ मंसिर – पर्यटकीय गन्तव्य खुम्बु क्षेत्र घुम्न आएका पर्यटक धमाधम फर्कन थालेका छन् । अक्टोबर सिजनमा हिमाली क्षेत्रको पदयात्रा तथा हिमाल आरोहण गर्नका लागि आएका विदेशी पर्यटक धमाधम फर्कन थालेका हुन् ।
माथिल्लो क्षेत्रमा चिसोसँगै हिमपातसमेत पर्न थालेपछि सगरमाथा, आमाडब्लम लगायत हिमालका आधार शिविर तथा माथिल्लो बस्तिहरु पर्यटकहरु फर्किने क्रम तीब्र भएको छ ।
अहिले खुम्बु क्षेत्र भ्रमण गर्न आउने भन्दा फर्कने पर्यटकहरुको संख्या बढि रहेको ईलका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । अहिले दैनिक २ सयको हाराहारीमा पर्यटक फर्किरहेको हुनाले खुम्बुको माथिल्लो क्षेत्रमा पर्यटकको संख्या न्युन हुँदै गएको छ ।
पर्यटकहरु फर्कन थालेसँगै खुम्जुङ भ्याली भन्दा माथिल्लो बस्तिका होटलहरु पनि सुनसान हुन थालेको हाम्रा समाचारदाता विमला पुकुर्टीले जानकारी दिनुभएको छ । होटलका काम गर्ने कामदार तथा अन्य कामका लागि गएका मजदुरहरु फर्किन थालेका र केही होटल पसल समेत बन्द गर्न थालेका जनाइएको छ ।
पर्यटकीय मौसम सकिएपछि खुम्बु क्षेत्रको चहलपहल सुनसान बन्दै जान्छ । मंसिरको अन्त्यसम्ममा खुम्बुबाट पर्यटकहरु फर्किसक्ने व्यवसायी निमातेम्बा शेर्पाले बताउनुभएको छ । यो सिजन सकिएपछि फागुनको मध्यबाट खुम्बुमा फेरी चहलपहल शुरु हुन्छ ।

Spread the love