खोटो संकलनमा मनपरी अनुगमन

२०७३.पुस १२ – डोटी, कैलाली, बैतडी र डडेलधुरालगायतका जिल्लामा खोटो संकलन गर्दा खोटे सल्लाको वन क्षेत्र विनाश हुने क्रम बढिरहेको छ । दिव्या रोजिनले सरकारले सञ्चालन गर्न नसकेर २०६० सालमै बन्द गरेको ‘नेपाल रोजिन एन्ड टर्पेनटाइन कम्पनी’ खरिद गरेर खोटो संकलन गरिरहेको छ । निजी कम्पनीहरूले खोटो संकलन (कार्यविधि) निर्देशिका २०६४ पालना नगरेको पाइए पनि सम्बन्धित निकायले अनुगमन गरेको छैन । २०५८/५९ सालपछि नेपालमा हिमाल रोजिन एन्ड टर्पेनटाइन जडीबुटी प्रशोधन प्रालि, भद्रकाली रोजिन, भवानी केमिकल्स प्रालि र दिव्या रोजिन एन्ड टर्पेनटाइनलगायतले सुदूरपश्चिमका विभिन्न जिल्लाबाट खोटो संकलन गर्दै आएका छन् ।

 यी कम्पनीहरूलाई खोटो संकलनका लागि सरकारले निश्चित वन क्षेत्र तोकिदिए पनि सबैले सजिलो र बाटो पुगेको क्षेत्रमा मात्र संकलन गरिरहेका छन् । कतिपय कम्पनीले सरकारसँगको सम्झौता सकिए पनि सामुदायिक वन उपभोक्ता समूहहरूसँग सम्झौता गर्दै खोटो संकलन गरिरहेका छन् । एउटा कम्पनीले संकलन गरिरहेकै क्षेत्रमा सरकारले प्रतिस्पर्धी अन्य कम्पनीलाई पनि इजाजत दिएपछि वनमा थप चाप बढेको जानकारहरू बताउँछन् ।

खोटो संकलनसम्बन्धी कार्यविधि २०६४ मा रूखमा ‘रिल’ (घाउ) निर्माण सकेसम्म बाटोबाट नदेखिने क्षेत्रमा गर्नुपर्ने भन्ने प्रावाधान भए पनि अधिकांश कम्पनीले त्यसको पालन गरेको देखिँदैन । ‘जिल्ला वन कार्यालयले प्रभावकारी अनुगमन पार्न नसक्दा कम्पनीले मनपरी संकलन गरिरहेका छन्,’ खोटो संकलनका लागि हिमाल र वन विभागबीच भएको सम्झौता भने तीन वर्षअघि नै सकिएको छ । दिव्या रोजिनका सञ्चालक अमर थापाले आफूहरूले खोटो संकलन कार्यविधि २०६४ मा भएका बुँदाको अक्षरश: पालना गरेको दाबी गरे ।  कार्यविधिमा पनि खोटो संकलनका लागि रूखमा रिल निर्माण गर्ने कार्य पूर्ण प्राविधिक कार्य भएकाले तालिम प्राप्त कामदार प्रयोग गर्नुपर्ने व्यवस्था छ । जथाभावी रिल बनाइएको वा तोकिएको भन्दा गहिरो घाउ पारिएको जानकारी भए वा जिल्ला वन कार्यालयले निरीक्षण अनुगमन गर्दा त्यस्तो पाइए उद्योग वा खोटो संकलन गर्ने निकायलाई सचेत गराउनुपर्ने उल्लेख छ ।

Spread the love