अतिक्रमणको चपेटामा जानकी मन्दिर

janaki mandir
३ चैत, जनकपुर । हिन्दु मिथकअनुसार भगवान रामचन्द्रको शासनलाई भ्रष्टाचार र बेथितिबाट मुक्त ‘राम राज्य’ मानिन्छ । तर, तिनै भगवान रामचन्द्रको ससुराली घर मानिने जनकपुर धाममा यतिबेला ‘राम राज्य’को साटो भ्रष्टाचारी र भूमाफियाहरुले ‘हराम-राज्य’ चलाइरहेका छन् ।

जनकपुर नगरपालिका क्षेत्रको गुठीको जमीनमा कतिसम्म अतिक्रमण भएको छ भने राममन्दिरको साविक २ हजार ८ सय ६७ विगाहा जग्गामध्ये २५ सय विगाहा अतिक्रमणमा परिसकेको छ ।

जानकी मन्दिरको ६ सय विगाहमध्ये ५ सय ३० विगाह, लक्ष्मण मन्दिरको ४ सय १० विगाहामध्ये ३ सय ९० विगाहा र रत्नसागरको ६५ विगाहामध्ये ४२ विगाहा जमीन अतिक्रमणमा परेको छ ।

त्यस्तै कुवा मठको ४ सय ८५ विगाहामध्ये ४ सय ६० विगाहा र हनुमान मठको १ सय ४३ विगाहा मध्ये १ सय ३० विगाहा जमीन अतिक्रमणमा परेको छ ।

गुठीकोे शरणमा आएका महन्थहरुले नै गुठीको श्रीसम्पति नै विनाश गर्ने खेलको अगुवाइ गरेकाले देवभूमिमा भूमाफियाको व्यापार चलिरहेको छ । यसमा गुठी संस्थान, मालपोत, नापी कार्यालय र महन्थ मात्र होइनन्, अपराधकर्मीहरु समेत सक्रिय देखिएका छन् ।

जनकपुरधाममा ७२ तलाउ, १५ कूप (कुवा), १५ शिवालय, २४ देवीपीठ, ५ उपवन, २६ ऋषि आश्रम बनेको तथ्यांकमा देखिन्छ । तर, ती मठमन्दिर, कुटी, सरोवर र कुण्ड आदि अतिक्रमणमा परेर लोपोन्मुख छन् ।

रामानन्द सम्प्रदायका उन्नायक सन्त रामानन्दको गुठी जमीनसमेत भूमाफियाको हातबाट बेचिइसकेको छ । वैष्णव सन्त रामानन्दका नाममा अहिले सार्वजनिक चोकमात्रै बाँकी छ ।

Spread the love