हातैले ढल सफा गर्ने क्रममा निसास्सिएर मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा रहेको एउटा अँध्यारो छाप्रोमा अञ्जना आफ्नो सानो छोरालाई हातमा लिइरहेकी थिइन्। आफ्नो छोराको नाम उनका बुवाको नामबाट राखिएको भन्दा उनका आँखा आँसुले डम्म भरिए। अञ्जनाका पति उमेश बामनियाको छोरा जन्मिनुभन्दा १० दिनअघि ढल सफा गर्ने क्रममा मृत्यु भएको थियो। त्यो कामबाट उनले दुई हजार भारतीय रुपैयाँ कमाउँथे। उनको शव गुजरातस्थित थराद नगरमा ढलभित्र भेटिएको थियो। उनी जम्मा २३ वर्षका थिए। दैनिक रोजीरोटी कमाउने उमेशको मृत्युले अञ्जना विक्षिप्त बनिन्। “मैले आफ्नो बच्चालाई कसरी हुर्काउने अनि पढाउने?” उनी प्रश्न गर्छिन्। गुजरातबाट सयौँ कोष टाढा पर्ने भारतको दक्षिणी राज्य तमिल नाडुमा अन्नाम्मा अञ्जनाकै जस्तो अवस्थामा छिन्। उनका ४० वर्षीय पति मोसेसको चेन्नाइस्थित एउटा कारखानाको नालीमा निसास्सिएर गत सेप्टेम्बरमा ज्यान गएको थियो।

उनको मृत्युसम्म अन्नाम्मालाई आफ्नो पति नाली सफा गर्ने काम गर्छन् भन्ने थाहा थिएन। “उहाँले हामीलाई चमेना गृहमा काम गर्छु भन्नुभएको थियो र कहिलेकाहीँ दैनिक ज्यालादारीको रूपमा पनि काम गर्नुपर्छ भन्नुभएको थियो,” उनले भनिन्। अन्नाम्माका दुई छोरी छन् र उनी अझै पनि पतिको मृत्युले मर्माहत छिन्। “कसरी बाँच्ने वा पैसाको कुरा छोड्नुस्, मैले आफ्ना छोरीलाई उनीहरूका बुवा सेप्टिक ट्याङ्क सफा गर्दा बित्नुभो भनेर कसरी भन्ने?” उमेश र मोसेस तथाकथित तल्लो जातका हजारौँ सरसफाइ कर्मचारीमध्येका हुन् जो नाली, सेप्टिक ट्याङ्क, शौचालय र ढलहरू हातैले सफा गर्छन्। उनीहरूलाई आम रूपमा हातैले नाली सफा गर्ने मानिस (म्यानुअल स्काभेन्जर्स) भनेर चिनिन्छ तर विज्ञहरू भने त्यो शब्दको कानुनी परिभाषामा रेलवेको ट्र्याक र अव्यवस्थित शौचालयजस्ता ठाउँहरूमा सरसफाइ र मानव फोहोर व्यवस्थापन गर्ने मानिसहरू मात्र बताउँछन्। भारतमा म्यानुअल स्काभेन्जिङको काममाथि प्रतिबन्ध लगाइएको छ। तर जातको कडा नियमका कारण र रोजीरोटीको विकल्प नभएका कारण यस्तो काम अझै पनि धेरै मानिसले गर्छन्। ती मानिसलाई स्थानीय सङ्घसंस्था र ठेकेदारहरूले प्लास्टिक र हिलोका कारण बन्द भएका नाली र ढलहरू सफा गर्न लगाउँछन्।

Spread the love