नेपालमा काेराेनाविरुद्धकाे चिनियाँ भ्याक्सिनको क्लिनिकल ट्रायललाई स्वीकृति

काठमाडौँ, भदौ९ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चिनियाँ कम्पनी होङ् सीलाई तेस्रो चरणको ट्रायलको लागि मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति दिइएको जानकारी दिनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलको काम अगाडि बढाउन चिनियाँ कम्पनी होङ् सीलाई स्वीकृति प्रदान गरेको छ । तर होङ् सीले गर्ने तेस्रो चरणको ट्रायलमा चिनियाँ नागरिक मात्रै सहभागी हुने मन्त्रालयले प्रष्ट्याएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रीस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको छ ।

कोरोना भाइरसको उपचारका लागि प्रभावकारी देखिएको प्लाज्मा थेरापी उपचार पद्धति र रेमडिसिभिर औषधिको क्लिनिकल ट्रायल गरिरहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले भ्याक्सिनको पनि ट्रायल गर्ने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भने होङ् सीको प्रस्तावमाथि अध्ययन भइरहेको जनाएको छ । मन्त्रालयले क्लिनिकल ट्रायलबारे अध्ययन र अनुसन्धान गर्न परिषद्लाई जिम्मेवारी दिएको छ ।होङ् सीले प्रस्तावसँगै पहिलो र दोस्रो चरणमा प्राप्त नतिजासहितको विवरण मन्त्रालयलाई बुझाएको थियो ।

नेपालमा तेस्रो चरणको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल ट्रायलका लागि तीन वटा कम्पनीले इच्छा देखाएको छ । जसमध्ये चीनको होङ् सी, बेलायतको अक्सफोर्ड विश्वविद्यलायको अष्ट्रा जेनेका र रुसको गेमेलिया हुन् । अक्सफोर्ड विश्वविद्यालयसँग पहिलो चरणको छलफल सकिएपनि दोस्रो चरणको लागि विश्वविद्यालयले आफैँ जानकारी गराउने जनाएको छ । रुसी खोप निर्माता गेमेलियाको तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि रुसी राजदूतसँग समन्वय भइरहेको परिषद्ले जनाएको छ । डा. ज्ञवालीका अनुसार सो कम्पनीले नेपालमा रहेको होङ्सी शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि भ्याक्सिनको तेस्रो चरणको परीक्षण गर्न अनुमति मागेको छ ।

 

Spread the love