सरकारले उखुको मूल्य निर्धारण गर्न नसकेको भन्दै प्रधानमन्त्री, उद्योग मन्त्री पुत्ला दहन

ukhu nawal parasi

सरकारले उखुको मूल्य निर्धारण गर्न नसकेको भन्दै प्रधानमन्त्री, उद्योग मन्त्री पुत्ला दहन

११ चैत्र ,नवलपरासी – उखुको सिजन सकिन लाग्दासम्म पनि सरकारले उखुको मूल्य निर्धारण गर्न नसकेको भन्दै किसानहरु आन्दोलित भएका हुन् । गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ४ सय ७६ रुपैयाँ निर्धारण गरिएको थियो । किसानहरुले यस वर्ष मूल्य निर्धारण हुन नसक्दा पेश्की रकमसमेत पाउन सकेका छैनन् । नवलपरासीमा उत्पादन भएको अनुमान गरिएको २५ लाख क्विन्टल उखुमध्ये २२ लाख क्विन्टल उखु किसानहरुले चिनी मिलमा क्रसिङका लागि दिएका छन् ।
झण्डै १० दिनअघि नै चिनी मिलहरुले उखुको क्रसिङ कार्य सकिसकेको छ भने किसानहरुको खेतमा रहेको उखु अधिकांश सकिएको छ । किसानहरुले यस वर्ष झण्डै ७५ करोड रुपैयाँ पेश्की रकम पाएका छैनन् ।  उनीहरुले बुधबार नवलपरासीको बेलाटारीमा प्रधानमन्त्री, उद्योग मन्त्रीलगायतका मन्त्रीहरुको पुत्ला दहन गरेका छन् । पुत्ला दहनको क्रममा प्रहरी र उखु किसानबीच केहीबेर झडपसमेत भएको थियो । झडपमा कुनै अप्रिय घटना भने भएको छैन ।