बाढीपीडित २४ घन्टादेखि भोकभोकै बस्न बाध्य

badi pairo of thepowernews

होलिया (बाँके) –  बाढी घर पसेपछि उनीहरू छपरा र छतमा भोकभोकै बसिरहेका छन् ।   भारतले बनाएको बाँधले राप्ती नदीको बहाव रोक्दा डुबान भएका कारण त्यहाँका बाढीपीडित २४ घन्टादेखि भोकभोकै बस्न बाध्य भएका छन् । नेपाली सेनाको हेलिकोप्टरले बुधबार उद्धार गरेपछि दुई दिनको पीडा सुनाउँदै दुब्बरले भने, ‘कति खेर बाढीले बगाएर लाने हो, अब मर्ने नै भइयो भन्नेमा पुगिसकेका थियौं तर सेनाले उद्धार गरेर हामीलाई बचायो ।’होलिया– २ छोटकी चौफेरीका ७० वर्षीय दुब्बर अहिरले मंगलबार बिहानदेखि केही खान नपाएको बताए ।

उनले मंगलबार बिहानदेखि गाउँमा बाढी पसेपछि खाना बनाउन नपाएका भोकै बस्नुपरेको बताए । ‘बाँच्ने त आशा थिएन, दुईतिर नदी, न भाग्ने ठाउँ थियो, घरभित्र पनि पानी नै पानी, खाने त के कुरा,’ दुब्बरले भने, ‘केटाकेटीले त केही खान पाएनन् ।’  राप्ती नदीको बाढी पसेर फसेका एक सय चारजनालाई नेपाली सेनाले बुधबार उद्धार गरेको छ । सेनाको हेलिकोप्टरले होलिया १, २, ३ र ४ वडाका पीडितलाई उद्धार गरेको प्रमुख जिल्ला अधिकारीले बताए ।

राप्ती पारीका तीनवटा प्रहरी कार्यालय बाढीले डुबाइदिएको छ । प्रहरी उपरीक्षक राईका अनुसार इलाका प्रहरी कार्यालय भोज भगवानपुर, प्रहरी चौकी गंगापुर, प्रहरी चौकी फत्तेपुर बाढीले डुबाएको छ । भारतले अन्तर्राष्ट्रिय नियमविपरीत बनाएको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र दसगजा जोडेर बनाएको बाँधरूपी सडकका कारण बर्सेनि हजारौं नेपाली डुबान र कटानको पीडा भोग्न बाध्य हुँदै आएका छन् ।

Spread the love