अमेरिकामा हिमआँधीका कारण ६२ जनाको मृत्यु

अमेरिकामा हिमआँधीका कारण ६२ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएको छ। उत्तर अमेरिकाभरि फैलिएको उक्त आँधीका कारण हजारौँ मानिसहरू बिजुलीबिना नै बस्न बाध्य छन्।

बफेलो सहरमा सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ र त्यहाँ ट्राफिक व्यवस्थापनमा मद्दत गर्न सैनिक प्रहरी ल्याइँदै गरेको सरकारी अधिकारीले जनाएका छन्। हिम आँधीका कारण हजारौँ उडानहरू रद्द भएका छन्। मङ्गलवार बिहान मात्रै करिब ४८ सय उडानहरू रद्द गरिएका थिए। देशैभरका विमानस्थलहरूमा हजारौँ यात्रुहरू अड्किएका छन्।

मङ्गलवारको पत्रकार सम्मेलनमा बफेलो सहरसमेत पर्ने न्यूयोर्कको इरी काउन्टीका अधिकारीहरूले खोजी र उद्धार कार्य जारी रहँदा मृत्यु हुनेको सङ्ख्या बढ्ने ठानिएको बताएका थिए।बफेलो सहरमा मात्रै ज्यान गुमाउनेको सङ्ख्या २८ पुगेको पुष्टि भएको हो। न्यूयोर्कमा मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै हुँदा आँधीसँगै सम्बन्धित घटनाका कारण अमेरिकाका अन्य राज्यहरू ओहायो, मिजोरी, विस्कन्सिन, क्यान्सस र कोलोराडोमा पनि मानिसहरूको ज्यान गएको छ।

सोमवार अमेरिकी राष्ट्रपति जो बाइडनले न्यूयोर्क राज्यमा सङ्घीय सहयोग दिने एउटा आपत्‌कालीन घोषणा अनुमोदन गरेका छन्।

Spread the love