झारफुकको भर पर्दा रेविजले तेह्रजनाको मृत्यु

जाजरकोट (आलीमैगान), १ कात्तिक । जाजरकोटको अति दुर्गम मजकोट गाविसमा धामीझाँक्रीको भर पर्दा रेविज लागेर १३ जनाको मृत्यु भएको छ ।  स्थानीय बासिन्दा हरिबहादुर शाहीले दिएको जानकारीअनुसार बहुलाहा कुकुरले भकाभक गाउँलेलाई टोक्दा रेविजविरुद्धको भ्याक्सिन लगाउनुको साटो धामीझाँक्रीलाई झारफुक गर्न लगाउँदा यति ठूलोमात्रामा क्षति भएको हो ।

सुरुसुरुमा धामीले झारफुक गर्दा निको होला भनेर हेलचेक्र्याईं गरियो अहिले कुकुरले टोकेका मानिसहरुको मृत्यु भएपछि झारफुकबाट निको नहुने देखे पछि रेविजविरुद्धको सुई लगाउन जिल्ला स्वास्थ्य कार्यालयमा जाने गरेको शाहीको भनाइ छ । बहुलाहा कुकुरको टोकाइबाट मजकोट गाविस वडा नं ६ का ५३ वर्षीय मयाराम उपाध्याय, ३५ वर्षीया कल्धरी शाही, वडा नं ५ का ४३ वर्षीया तुली खत्री, २३ वर्षीया दिला बस्नेत, ५४ वर्षीया कल्पना वरसहित १३ जनाको मृत्यु भएको शाहीले उल्लेख गर्नु भयो ।

बहुलाहा कुकुरको टोकाइबाट वडा नं ५ र ६ मा मात्र ६० भन्दा बढी पशुचौपाया मरिसकेको स्थानीयको भनाइ छ ।  अहिले पनि बहुलाहा कुकुरले स्थानीयलाई टोकिरहेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा रेविजविरुद्धको भ्याक्सिन लगाउन आएका रत्नले भन्नुभयो, “धामीको भरमा पर्दा आफ्नै १३ जना दाजुभाइ गुमाउनुप-यो त्यसैले म पनि अस्पताल जान लागेको छु मलाई पनि कुकुरले टोकेको थियो ।

आफ्नो गाउँमा बहुलाएको कुकुरले जथाभावी टोकेर ठूलो क्षति भयो भनेर स्वास्थ्य कार्यालयलगायतका सरोकारवाला निकायलाई भन्दा पनि कसैले ध्यान दिएनन् अहिले यति ठूलो घटना घट्यो । मेरो श्रीमान् बित्नुभयो म पनि दैलेख गएर रेविजको औषधि गरेर आएँ अनि जीवन बचाएँ मृतक मयारामकी श्रीमती महिसरी उपाध्यायले दुखेसो पोख्नुभयो ।”

मजकोटबाट जाजरकोट सदरमुकाम आउन पैदल दुई दिन लाग्ने गर्दछ । यता क्षेत्र नं २ लाई लक्षित गरेर दसेरा स्वास्थ्य चौकीमा भ्याक्सिन राख्ने तयारी भए पनि छ महिनादेखि भ्याक्सिन राख्ने फ्रिज खराब भएका कारण सदरमुकामकै भर पर्नुपर्ने बाध्यता भएको दसेरा स्वास्थ्य चौकीका इन्चार्ज रामबहादुर थापाले जानकारी दिनुभयो । रासस

Spread the love