घाइते को-पाइलट मानन्धरको निधन

काठमाडौंशनिबार दिँउसो लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा घाइते हुनुभएका गोमा एयरका को-पाइलट सृजन मानन्धरको निधन भएको छ । सन् १९९० मा जन्मिनुभएका मानन्धर गोमा एयरमा २०१५ अगस्टदेखि आबद्ध हुनुभएको हो । लुक्ला अस्पतालमा उपचारका क्रममा शनिबार बेलुका ९ :३० बजे मानन्धरको निधन भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । काठमाडौं कलंकी निवासी मानन्धर अविवाहित हुनुहुन्छ ।  दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट पारसकुमार राईको शनिबार नै निधन भएको थियो । उहाँको अवस्था गम्भीर रहेको थियो । मानन्धरलाई उपचारका लागि शनिबार नै काठमाडौं ल्याउने तयारी गरिएको भएपनि प्रतिकूल मौसमका कारण ल्याउन नसकिएको विमानस्थलका प्रवक्ता ठाकुरले बताउनुभएको थियो ।  हालसम्म लुक्ला विमानस्थलको मौसममा सुधार नआएको र सुधार आउने वित्तिकै घाइते भइ उपचाररत रहेकी एयर होस्टेज प्रज्ञा महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने र पाइलट राई र को-पाइलट मानन्धरको शव पनि काठमाडौं ल्याउने तयारी गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

Spread the love