अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा

अमेरिका र भारतका लगानीकर्ताको मनमा खेलिरहेका कुराको सोझो असर नेपाली सर्वसाधारणको खल्तीमा पनि परिरहेको छ । सायद यसैलाई अर्थतन्त्रको विश्वव्यापीकरण भन्छन्। बुधवार एक अमेरिकी डलरको बिक्री मूल्य १३३.५४ नेपाली रुपैयाँ पुगेको छ जुन अहिलेसम्मकै उच्च कीर्तिमान हो। तर नेपालमा डलरको भाउ यसरी बढिरहने प्रवृत्ति कता जोडिएको छ भन्ने तपाईँलाई थाहा छ? त्यसको भेउ पाइयो भयो भने बल्ल यो प्रवृत्ति अझै जारी रहला कि मत्थर होला भनेर भन्न सकिन्छ।

अमेरिकी केन्द्रीय ब्याङ्क फेडरल रिजर्भले यो साता लिने ठानिएको ब्याजदरसम्बन्धी निर्णयलाई लगानीकर्ताहरूले व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन्। केही समययता अमेरिकी अर्थतन्त्र सुधारोन्मुख भइरहेको छ र फेडरल रिजर्भले ब्याज दर बढाइरहेको छ। जुलाई महिनामा उसले गरेको वृद्धिपछि त्यहाँ ब्याजदर २२ वर्षयताकै उच्च बिन्दुमा पुगेको थियो। अझै पनि उसले ब्याज दर बढाउन सक्ने या अहिलेको दरलाई स्थिर राख्न सक्ने कतिपयले ठानिरहेका छन्। यसो हुँदा लगानीकर्ताहरू स्वाभाविक रूपमा डलरतर्फ आकर्षित हुन्छन्। अनि त्यसको भाउ बढ्छ। त्यसो हुँदा भारतबाट लगानीकर्ताहरूले समेत पैसा अमेरिका लैजान सक्छन्। अनि भारुको भाउ घट्छ। भारुको भाउ घट्नु भनेको नेपाली रुपैयाँ स्वत: घट्नु हो। नेपालले आफ्नो मुद्राको विनिमय दर भारुसँग स्थिर राखेको छ। १०० भारु बराबर १६० नेरु। भारु तलमाथि हुँदा त्यसको बुई चढेको नेरु पनि सँगसँगै तलमाथि हुन्छ। यो साता भारुको अवमूल्यन भएकै कारण नेपालमा पनि प्रभाव परेको छ।

Spread the love