मधेसमा फेरि चुनाव सार्ने सरकारको तयारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आहृवानमा बुधबार सुरुमा प्रमुख तीन दल, राजपा र त्यसपछि कांग्रेस, माओवादी र राजपा नेताहरुको बैठकले तराई मधेसका केही जिल्लामा स्थानीय चुनाव सार्ने तयारी गरेको छ ।  आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले चुनाव सार्दा भाग लिने प्रतिवद्धता जनाएको छैन । एमालेसहितको बैठकमा राजपालाई चुनावमा ल्याउनेबारे सामान्य छलफल भएपनि कुनै सहमति हुन सकेन । प्रधानमन्त्री शेरबहादुर देउवाले अब के गर्ने भन्दै सल्लाह मागेका थिए । राजपा नेताहरुले आफूहरुको कुनै माग पुरा नभएको भन्दै यथास्थितिमा चुनावमा नजाने बताए । एमाले नेताहरु बाहिरिएपछि कांग्रेस, माओवादी र राजपा नेताहरुको बैठक बसेको थियो । त्यहाँ भने राजपाका नेताहरुले प्रदेश नम्बर २ र ५ को चुनाव सार्न र आफ्ना राजनीतिक मागहरु पुरा गर्नु पर्ने बताएको छ । एमाले नेताहरुले भने असार १४ मै चुनाव हुनु पर्ने अडान राखेका छन् । साथै चुनाव अघि संविधान संशोधन र स्थानीय तहको संख्या बढाउन नसकिने बताए ।  सत्तारुढ कांग्रेस र माओवादीले प्रदेश नम्बर २ को चुनाव सार्न सकिने संकेत दिएका छन् । स्रोतका अनुसार भोलि विहान ९ बजे निर्वाचन आयोगसँग छलफल गर्ने र १० बजे फेरि राजपासँग छलफल गर्ने तय भएको छ । राजपाका नेता शरदसिंह भण्डारीले सबै राजनीतिक दललाई चुनावमा जाने वातावरण सिर्जना गर्नका लागि राजपाले स्पष्टसँग माग राखेको छ ।  चुनावमा जाने वातावरण सिर्जना नभएको र वातावरण नभएमा दुर्भाग्यपूर्ण अवस्था हुने उनको चेतावनी छ ।

Spread the love