अमेरिकाका २९ वटा जेलमा नेपालीहरू

USA Nepali
 न्यु योर्क–५० लाख रुपैयाँसम्म खर्च गरेर मेक्सिकोको बाटो हुँदै हरेक दिनजसो नेपालीहरू गैरकानुनी रूपमा अमेरिका छिर्ने गर्छन् । जङ्गल, समुन्द्र र जेल हुँदै अमेरिकासम्मको यात्रा तय गर्ने क्रममा कतिपय नेपालीहरू जंगली जनावरको सिकार हुन्छन् । कतिपय समुन्द्रमा ढुङ्गा डुबेर गोही र सार्कको सिकार हुन्छन् । कतिपय अमेरिका आउनु अगाडि नै अन्य देशमा पक्राउ परेर उतैबाट फर्काइन्छन् । यतिधेरै जोखिमका बिच पनि मेक्सिको हुँदै नेपालीहरू गैरकानुनी रूपमा अमेरिका छिर्ने क्रम घट्दो छैन, बरु बढ्दो छ ।
अमेरिकाको सिमाक्षेत्रबाट गैरकानुनी रूपमा छिर्ने क्रममा कैयन नेपालीहरू सीमा सुरक्षा बलको फन्दामा पर्छन् । त्यसपछि उनीहरूको जेलको यात्रा सुरु हुन्छ । कतिपय केही महिनापछि जेलबाट छुट्छन्, कतिपयलाई डिपोर्ट गरेर नेपाल फिर्ता पठाईन्छ । जेलबाट छुटेकाहरु मध्ये अधिकांश बाहिर निस्केपछि अमेरिका आउँदाको ऋण तिर्न हरेक दिन १२ देखि १४ घण्टासम्म र तीसै दिन काम गर्न बाध्य हुन्छन् । जेलबाट छुट्न नसकेर डिपोर्ट हुनेहरु आफ्नै अगाडि सपनामा आगो लागेको हेर्न बाध्य हुन्छन् ।
जुलाईको दोस्रो सातासम्मको अवस्था हेर्दा अमेरिकाका २९ वटा जेलमा नेपालीहरू अमेरिकी सपना सजाएर बसिरहेका छन् । अमेरिकामा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट –आईस) को माताहतमा ८२ वटा अध्यागमन जेलहरु रहेका छन् । ती मध्ये हाल २९ वटा जेलमा नेपालीहरू रहेका छन् ।

जुलाईको दोस्रो सातासम्मको अद्यावधिक विवरण अनुसार अमेरिकाका सबै अध्यागमन जेलमा रहेका नेपालीहरूको सङ्ख्या १ सय ११ रहेको छ । कहिलेकाँही हजारौँ नेपालीहरू जेलमा रहेको प्रचारबाजी आउने गरे पनि त्यो प्रचारवाजी सत्य नरहेको विभिन्न इमिग्रेशन जेलको स्थलगत भ्रमण र युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले प्रदान गरेको अद्यावधिक तथ्याङ्कबाट पुष्टि भएको छ । अमेरिकामा रहेका अध्यागमन जेलहरुमध्ये सबैभन्दा धेरै नेपालीहरू जर्जियाको जेलमा रहेका छन् । जर्जियाको स्टेवार्ड डिटेन्सन सेन्टरमा हाल २३ जना नेपालीहरूले बन्दी जीवन विताईरहेका छन् ।

Spread the love