अमेरिकामा हिमपातका काण ५ जनाको मृत्यु, – ३८ बर्षपछिको अत्याधिक चिसो

अमेरिकामा मंगलबार बिहान नोभेम्बर महिनाको सबैभन्दा चिसो बिहानको रुपमा रह्यो । अमेरिकाको मौसम बिभागका अनुसार ३८ बर्षपछि नोभेम्बरको बिचमा यति धेरै चिसो भएको हो । यसअघि सन् १९७६ मा नोभेम्बर महिनामा यति धेरै चिसो भएको थियो । अमेरिकाको ४८ राज्यको ८५ प्रतिशतभन्दा बढी क्षेत्रमा तापक्रम ३० डिग्रि फरेनहाइट भन्दा तल झऱ्यो । आर्कटिकबाट आएको चिसोका कारण न्युयोर्क, पेन्सिलभेनिया, ओहायो, मिचिगत र विसकन्सनका केही स्थानहरुमा हिमपात समेत भएको छ । न्युयोर्कको बफलोमा ६ फिट सम्मको हिमपात भएको छ । बफलोमा ४ सय ५० घरमा बिद्युत आपूर्ति समेत बन्द भएको छ । यातायात पूर्ण रुपमा नचल्दा धेरै जना कार्यालय जान पाएका छैनन् ।
करिब यो साता भरि नै हुने हिमपातले कतिपय स्थानमा साढे सात फिट सम्म हिमपात हुने बताइएको छ । अमेरिकाको राष्ट्रिय मौसम केन्द्रका अनुसार यतिखर अमेरिकाको आधा जस्तो क्षेत्रमा हिमपात भएको छ, जुन सामान्यतया जनवरी र फेब्रुअरीमा मात्र हुने गर्छ । हिमपातका कारण अमेरिकाका बिभिन्न क्षेत्रमा अहिलेसम्म ५ जनाको मृत्यु भएको बताइएको छ । हिमपातका कारण भएको गाडि दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने न्युयोर्कको एल्डनमा एक जना ४६ बर्षिय पुरुष हिँउले पुरिएको गाडिमा चिसोका कारण मृत अबस्थामा भेटिएको बताइएको छ । त्यस्तै ३ जना भने हिँउ शोभल गर्ने क्रममा मुटुमा समस्या देखेर मृत्यु भएको बताइएको छ । हिमपातले जनजीवन अस्तब्यस्त बनेको छ । हिमपातले कतिपय स्थानहरुमा बिद्यालय बन्द गरिएका छन् भने बिभिन्न क्षेत्रमा दुर्घटना र ट्राफिक जाम धेरै मात्रामा भइरहेका छन् । हिमपातका कारण घण्टौ ट्राफिक जामको अबस्था सिर्जना भएको छ । यो साताभरि नै चिसो यथावत रहने र कतिपय स्थानमा थप हिमपात हुने अमेरिकाको राष्ट्रिय मौसम केन्द्रले बताएको छ ।

Spread the love