नेपाली आकाश कति सुरक्षित छ – हवाईजहाज दुर्घटना किन भइरहन्छ

एभिएशन सेफ्टी नेटवर्कले सङ्कलन गरेको तथ्याङ्क तुलना गरेर हेर्दा नेपालमा भएका विमान दुर्घटनाको सङ्ख्या न्यूजील्यान्डको भन्दा तीनगुना बढी देखिन्छ। अप्ठ्यारो र चुनौतीपूर्ण भूगोलमा विमान चलाउनुपर्ने बाध्यता नेपालमा मात्र सीमित छैन। नेपालमा हिमाली र पहाडी भेगमा विमान उडाउन विशेष दक्षता चाहिन्छ। न्यूजील्यान्डका विकट उपत्यकाहरूमा पनि नियमित व्यावसायिक उडानहरू हुन्छन्।

“हाम्रोमा निश्चित विमानस्थलमा विमान उडाउन पाउने चालकका लागि निश्चित मापदण्ड तोकिएको छ। कुनै हवाईमार्गमा विमान उडाउन आईपी (प्रशिक्षक विमानचालक)सँग निश्चित घण्टा उडेको हुनुपर्छ,” नेपाल नागरिक उड्डयन प्राधिकरणका भूतपूर्व महानिर्देशक सञ्जीव गौतमले भने गौतमका अनुसार त्यो न्यूनतम मापदण्ड हो। केही वायुसेवा कम्पनीहरूले अझ बढी अनुभव र दक्षता खोज्न सक्छन्। निजी वायुसेवा कम्पनीहरूको संस्था ‘वायुसेवा सञ्चालक सङ्घ’का अध्यक्ष क्याप्टेन रामेश्वर थापाका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसारको तालिमबाहेक नेपालमा जहाज उडाउने विमानचालकलाई यहाँका भूभाग र विमानस्थलहरूसँग परिचित गराउनेगरी थप तालिम र अभ्यास पनि गराइन्छ। “हामी नियमित रूपमै तालिम गराइरहेका हुन्छौँ। प्रत्येक वायुसेवाको आआफ्नै तालिम विभाग हुन्छ। त्यो विभागबाट विज्ञ विमानचालकहरूले तालिम गराउँछन्, कहिलेकाहीँ बाहिरबाट विज्ञहरू ल्याएर पनि हामी गराउँछौँ । नेपाल र न्यूजील्यान्डका केही स्थानको भौगोलिक स्थितिमा केही समानता छ। तर अभिलेखहरूले नेपालमा न्यूजील्यान्डमा भन्दा बढी हवाई दुर्घटनाहरू भएका देखाउँछन्।

Spread the love