आज श्रीकृष्ण जन्माष्टमी

‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

जन्माष्टमीका दिन ललितपुरको मंगल बजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरेको छ । यस वर्ष भने नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेका कारण पूजा विधि मात्र गरिने जनाइएको छ । ललितपुर महानगरपालिकाले सूचना प्रकाशन गरी भक्तजनलाई दर्शन गर्न नदिने जानकारी गराएको छ ।

यसैगरी काठमाडौंको उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष पूजा आराधना मात्र गर्ने तयारी छ ।

Spread the love