सप्तकोशी बाढी उदयपुर जिल्लामा पस्न थालेपछि

सप्तकोशी नदीले उदयपुर जिल्लामा आफ्नो धार परिवर्तन गरेपछि बाढी र डुबानबाट जोगाउन सयौँ मानिसलाई उद्धार गरिएको र त्यो क्रम अझै जारी रहेको अधिकारीहरूले बताएका छन्। उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बेलका नगरपालिकाको डुम्रेनजिकै सप्तकोशी फुटेर मङ्गलवार राति नदीको प्रवाह परिवर्तन भएको थियो। त्यसबाट मानवबस्तीमा पानी पस्न थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्य अघि बढाएको उनले जानकारी दिए। सुनसरी र सप्तरी जिल्लामा सप्तकोशी नदीमा तटबन्ध गरिएको भए पनि उदयपुरमा त्यस्तो संरचना छैन।

उद्धारकार्यमा डुङ्गासहित ३०० सुरक्षाकर्मी परिचालित भएका छन्। अहिलेसम्म कुनै क्षतिको विवरण नआएको  बताएका छन्। सिसौली टप्पु-चिलिया बस्ती हुँदै पसेको कोशीको भँगालोले वडा नं ८, ९, १, २ र ३ का बासिन्दा प्रभावित भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए। बुधवार बिहान ११ बजेसम्म डुबान र कटानबाट प्रभावित करिब ९०० परिवारका मानिसको उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको जानकारी बताएका छन्।

Spread the love