६० वर्षपछि नेपालमा सलह

बुटवल : शनिबार प्रदेश २ मा देखिएको सलह किरा प्रदेश ५ को रुपन्देहीमा पनि देखा परेको छ । भारतीय सीमा क्षेत्रमा देखिदै आएका सलह रूपन्देही पसेका हुन् । शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो ।  कीरा देखिएको खबर प्राप्त हुनासाथ कीट विज्ञसहित कृषि विज्ञहरु छलफल र अनुसन्धानमा जुटेका छन् । घाम नै छेलिने गरी उडेर आउने सलहको झुण्ड जहाँ बस्छ, त्यहाँको हरियाली केहीबेरमै उजाड बन्छ । दिउसो करिब एक बजे बुटवलको कालिकानगर, गोलपार्क, सुख्खानगर, रामनगर लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले प्रदेश सरकारका पदाधिकारी तथा विज्ञहरुलाई खबर गरेका थिए । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले गरेको अध्ययन अनुसार सन् १९६० मा काठमाडौं उपत्यकामा सलह देखिएको थियो ।

नेपालमा यस वर्ष सलह भित्रिन नसक्ने निचोडसहित सरकारी अध्ययन प्रतिवेदन बनेको २२ दिनपछि नेपालका दुई जिल्ला बारा र सर्लाहीमा भित्रिएको छ । सलहले तरकारी तथा धान बालीमा क्षति गर्न थालेको जिल्लास्थित ज्ञान केन्द्रहरुले जनाएका छन् । सलहका स–साना झुण्डले भारतको बिहार र उडिसासम्म आक्रमण हुन सक्ने अनुमान गरिए पनि सरकारी प्रतिवेदनमा सलह नेपाल छिर्ने परिकल्पना गरिएको थिएन ।

नेपालमा सलहको प्रवेश पहिलो पटक भएको होइन । पचास वर्ष पहिले सलह आउँदा नियन्त्रणका प्रभावकारी उपाय अनपनाउन नसकेको जानकारहरू बताउँछन् । रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन् । करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुल/जालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बस्नबाट रोक्ने सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हुन सक्छ ।

Spread the love