रौतहटमा प्रहरीसँगको भिडन्तमा एक जनाको मृत्यु

रौतहट — रौतहटको राजदेवी नगरपालिकास्थित सीमा क्षेत्रमा हतियारसहित आपराधिक समूह  पक्राउ गर्न गएका सुरक्षाकर्मी माथि गोली प्रहार गरेपछि भएको भिडन्तमा बिहीबार राति एक जनाको मृत्यु भएको छ । नगरपालिकास्थित मुडवल्वा टोलको बाग्मती नदी तटबन्धमा हतियाधारी समूह पक्राउ गर्न केन्द्रिय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी र इलाका प्रहरीका डीएसपी शान्तिराज कोइरालासहितको टोली एम्बुस थापेर बसेको थियो । घटनास्थलबाट प्रहरीले अत्याधुनिक हतियार एसएमजी र गोली बरामद गरेको छ । घट्नास्थलमा राति ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । भिडन्तमा एकजनाको खुट्टा र पिठ्यूमा गोली लागेको थियो । २ जना भारततर्फ भागेको प्रहरीले जनायो । गोली लागेर घाइतेको उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइदै गर्दा बाटोमै मृत्यु भएको हो ।

Spread the love