सार्क मुलुक सबैसंग एकता आवश्यक – कोइराला

दि पावर न्युज संवाद दाता, काठमाडौ । – प्रधानमन्त्री सुशील कोइरालाले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन क्षेत्रको चौतर्फी विकासका लागि सबल, एकीकृत एवम् अर्थपूर्ण एकता अपरिहार्य भएको बताएका छन् । अठारौँ सार्क शिखर सम्मेलनको उद्घाटन गर्दै उहाँले तीन दशक लामो यात्रा पूरा गर्नै लागेको सार्कलाई प्रगतिको पथमा अग्रसर गराउन एकता र ऐक्यबद्धता आवश्यक भएको बताए । सदस्य देशबीच साँचो अर्थमा गहन एकताको अभिवृद्धि, व्यापार–वाणिज्य क्षेत्रको विकास गर्दै दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता ९साफ्टा० कार्यान्वयन, सार्कका संस्थागत संयन्त्रहरूको सुदृढीकरण, सार्क क्षेत्रमा वस्तु तथा सेवा व्यापारको अवरोधरहित ढुवानी र जनताको आवागमनका लागि साझा प्रतिबद्धताका साथ आवश्यक काम गर्न जरुरी भएको प्रधानमन्त्री कोइरालाले बताए । दक्षिण एसिया जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेको र अस्थिर मौसमका कारण जोखिम अझ थपिएकोतर्फ सार्क मुलुकका शीर्ष नेतृत्वको ध्यानाकर्षण गर्दै क्षेत्रीय एकताको भावनाबाट ती चुनौतीलाई परास्त गर्नुपर्ने विचार व्यक्त गरे । नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे संक्षिप्त जानकारी दिँदै प्रधानमन्त्री कोइरालाले नेपाललाई शान्ति, प्रजातन्त्र र स्थायित्वको मार्गमा अग्रसर गराउन जनचाहनाअनुसारको संविधान लेखनमा लागेको जानकारी दिए ।

Spread the love